१५ असार २०७८, मंगलवार

एजेन्सी । विश्वकप विजेता फ्रान्स युरोपेली च्याम्पियनसिप (युरो कप)बाट बाहिरीको छ । गएराति भएको खेलमा युवा फरवार्ड किलीयन एमबाप्पेले टाइब्रेकरमा गोल गर्न नसक्दा फ्रान्स स्विट्जरल्यान्डसँग टाइब्रेकरमा ५-४ ले पराजित हुँदै युरो कपबाट बाहिरएको हो ।

बुकारेस्टमा सोमबार भएको राउन्ड अफ १६ को खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

खेलको निर्धारित ९० मिनेटसम्म बराबरी भएपछि अतिरिक्त समयतार्फ लम्बिएको फ्रान्स र स्विट्जरल्यान्डको फुटबल पेनाल्टी सुटआउटसम्म पुगेको थियो । पेनाल्टीबाट ५-४ गोलअन्तरले फ्रन्सलाई पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम ८ मा प्रवेश गरेको हो ।

बराबरीपछि रेफ्रीले दिएको १० पेनाल्टी अवसरमध्ये एम्बाप्पेबाहेक सबै खेलाडीले स्कोर गर्न सफल भएका थिए । टाइब्रेकरमा पहिलो प्रहार गरेको स्विट्जरल्यान्डका लागि मारिओ ग्राभानोभिच, फाबियन सेर, म्यानुएल अकान्जी, रुबेन भार्गास र आदमिर मेहमेदी सबैले गोल गर्न सफल भएका थिए ।

फ्रान्सका लागि पल पोग्बा, ओलिभिएर जिरुड, मार्कस थुराम र प्रेस्नेल किम्पेम्बे लगातार सफल हुँदा पाँचौ प्रहार गर्न आएका एम्बाप्पेको प्रहारलाई गोलरक्षक यान सोमरले विफल पारेका थिए ।

त्यसपहिले एक गोलले पछि परेको अवस्थामा केरिम बेञ्जिमाले ५७औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसको दुई मिनेटपछि उनले नै अर्को गोल थपे । यससँगै २-१ अग्रता बनाएको फ्रान्सका पाउल पोग्वाले ७५औं मिनेटमा गोल गरेपछि भने फ्रान्स ३-१ गोलले अघि रह्यो।

तर, १५औं मिनेटमा गोल गरेका स्विट्जरल्यान्डका हरिस सेफेरोविचले ८१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। त्यस्तै, मारियो गाव्रानोविचले अन्तिम मिनेटमा गोल गरेपछि निर्धारित ९० मिनेटमा खेल ३-३ गोलको बराबरी भएको थियो।

त्यसपछि थपिएएको ३० मिनेटमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पनाल्टी सुटआउटमा पुगेको थियो। जहाँ एम्बाप्पेले पेनाल्टी सुटमा गोल गर्न नसकेपछि खेल स्विट्जरल्यान्डले जितेको थियो ।  यससँगै स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनको सामना गर्नेछ ।

समूह एफको विजेता बनेको फ्रान्सले त्यहाँ जर्मनी विरुद्ध जित निकालेको थियो भने हंगेरी र पोर्चुगलसँग बराबरी खेलेको थियो । बलिया देशको समूह मानिएको सो ग्रुपमा तेस्रो भएर अन्तिम १६ को यात्रा तय गरेको पोर्चुगल पनि सोमबार राति बेल्जियमसँग हार बेहोरेपछि घर फर्किएको छ। समूह एफमा दोस्रो हुँदैअन्तिम १६ को यात्रा गरेको जर्मनीले भने खेल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV