१४ असार २०७८, सोमबार
  • युवराज आचार्य,

झापा । भारतीय जंगली हात्तीको आक्रमणबाट झापाको मेचीनगरमा एक महिला शक्त घाइते भएकी छिन् ।

मेचीनगर २ स्थित कप्तान कामतकी ५५ बर्षीया डुकीसरी मेचे हात्तीको आक्रमणबाट घाइते भएकी मानव हात्ती द्धन्द व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च बाहुण्डागीँका अध्यक्ष हरी प्रसाद उप्रेतीले जानकारी दिए ।

घर नजिकै रहेको निन्दा खोलामा नुहाउन जाने क्रममा हात्तीले आक्रमण गर्दा मेचे गम्भीर घाइते भएकी थिइन् । घाइते उनको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

गएराति बाहुनडाँगीमा लगाइएको विद्युतीय तारबार भत्काएर भारतबाट १६ वटा हात्ती नेपाल छिरेको डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले बताए । तिनै हात्तीमध्ये एकको आक्रमणमा परी उनी घाइते भएकी हुन् ।

गएराति आएका हात्तीमध्ये २ वटा अहिले मेचीनगर २ स्थित स्थानीय नरेन्द्र न्यौपाने, हरी चम्लागाईँ र लक्ष्मी चम्लगाईँको बगानभित्र बसिरहेका छन् । हात्ती गाउँभित्रको बगानमा बसेपछि त्यस क्षेत्रका स्थानीयमा त्रास बढेको छ ।

त्यस्तै बाँकी रहेका हात्ती बौंबन जंगलस्थित पाँचपोखरी क्षेत्रमा रहेको स्थानीयले बताए । त्यस क्षेत्रमा अहिले स्थानीय र डिभिजन वन कार्यालयको गाडीले सुरक्षा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV