१४ असार २०७८, सोमबार

मुस्ताङ । समाजसेवी सोनाम लामाद्वारा स्वास्थ्य कार्यालय जोमसोमलाई २० थान अक्सिजन कन्सिट्रेटर सहयोग गरेका छन् । पुर्ख्यौली घर मुस्ताङको मुक्तिनाथ भइ हाल लामो समयदेखि अमेरिकामा बस्दै आएका समाजसेवी सोनाम लामाद्वारा मुस्ताङ जिल्लाको लागी ५० लाख बराबरको अक्सिजन कन्सिटेटर सहयोग गरिएको हो ।

एन आर एन ए आइसीसी केन्द्रीय कार्यसमितिका उपाध्यक्ष समेत रहनुभएका लामाले आम मुस्ताङ बासिको स्वास्थ्य हितलाइ मध्यनजर गर्दै २० थान अक्सिजन कन्सिट्रेटर सहयोग गरेका हुन् । साथमा जोमसोम घर भइ अमेरीका रहनुभएका एन आर एन ए का पुर्व क्षेत्रीय संयोजक नवीन शेरचनको बिशेष पहल समेत रहेको युवा समाजसेवी बिकल शेरचनले बताए ।

युवा समाजसेवी बिकल शेरचनको बिशेष संयोजकत्व र आवस्यक आर्थिक सहयोगमा जिल्लालाई यति धेरै रासी बराबरको स्वास्थ्य सामाग्री उपलब्ध भएको हो । एन आर एन ए केन्द्रीय कार्यालय काठमाडौंबाट प्राप्त यी स्वास्थ्य सामाग्रीलाई आजैनै बिभिन्न पाँच ओटा स्थानीय निकाय, स्वास्थ चौकी र जिल्ला अस्पताललाई प्रदान गरिने शेरचनले बताए । जसमध्ये १० थान पाँच ओटा गाउँ पालिकामा, ८ ओटा जिल्ला अस्पताल जोमसोममा र बाकी दुई ओटा लेते प्राथमिक स्वास्थ्य चौकिमा उपलब्ध गराइनेछ ।

उपलब्ध २० थान अक्सिजन कन्सिट्रेटर दश लिटरको रहेको छ । शेरचनको अनुसार फेरि चाँडैनै अक्सिजन सिलिन्डर समेत उपलब्ध गराउने बाचा गरेका छन् । साथै शेरचनकै पहलमा केही महिना अघि जिल्ला अस्पताललाई पाँच थान अक्सिजन सिलिन्डर प्राप्त भएको थियो । साथै शेरचनकै पहलमा थासाङ गाउँ पालिकामा समेत बिभिन्न समयमा स्वास्थ्य सामाग्रीहरु उपलब्ध भैसकेको छ । भने दिगो तथा उत्थानशील समाजका लागि हिमाली पहलबाट समेत मास्क, सेनिटाइजर लगायत अन्य धेरै स्वास्थ्य सामग्रीहरु सहयोग भैसकेको छ ।

स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय प्रमुख टिकाराम भण्डारीले कोरोना भाइरस (कोभीड-१९) को दोस्रो लहरको यस विषम परिस्थितिमा मुस्ताङ जिल्लालाई यसरी सहयोगी हातहरु अघि बढ्नु सकारात्मक रहेको बताए ।

यस महामारीमा जिल्लालाई चाहिने जति स्वास्थ्य सामाग्रीहरु विभिन्न तह र तप्काबाट सहयोग हुँदै आइरहेको भण्डारीले बताए । हाल मुस्ताङ जिल्लामा मात्रै करिब ८० को हाराहारीमा अक्सिजन कन्सिट्रेटर उपलब्ध रहेकोे स्वास्थ कार्यालय प्रमुख भण्डारी ले बताए, उनले भने- जिल्लामा हालसम्म अक्सिजन सिलिन्डर मात्रै १ सय ७४ ओटा रहेको छ ।

विभिन्न संघ-संस्था, सामाजिक व्यक्तित्व लगायत केन्द्र र संघबाट समेत नियमित रूपमा आवस्यक स्वास्थ्य सामाग्री उपलब्ध हुँदै आइरहेको भण्डारीले बताए, उनले भने- हालसम्म उपलब्ध जतिपनी स्वास्थ्य सामाग्रीहरु जिल्लाका पाँच ओटै स्थानीय निकाय र सम्बन्धित स्वास्थ्य संस्थामा उपलब्ध गराइसकेको छ ।

दोस्रो लहरको कोभिडले केही महिनासम्म मुस्ताङका जनताहरुको स्वास्थ्यमा नराम्रोसँग असर गरिरहेको बेला चाहिने जति स्वास्थ्य सामाग्रीहरु नहुँदा साह्रै अप्ठ्यारो स्थिति समेत आएको भण्डारीको दुखेसो थियो । सबैभन्दा दीर्घ रोगी र बृद्धअबश्थाका मानिसहरुलाइ बचाउन साह्रै गाह्रो भएको भण्डारीले बताए, उनले भने- त्यतिबेला हामीसँग ती स्वास्थ्य सामाग्री हुन्थ्यो भने हामीले यस किसिमको समस्याबाट गुज्रिनुपर्ने थिएन । हाल मुस्ताङमा मात्रै कोरोना भाइरस (कोभिड -१९) बाट १५ जनाले ज्यान गुमाइसकेको छ । जसमध्ये ४० बर्ष हाराहारीको ७ जना र ५० बर्ष भन्दा माथिको ८ जना रहेका छन् ।

हिजोसम्म मात्रैको डाटालाइ हेर्ने हो भने जिल्लामा सक्रिय संक्रमित संख्या ४ सय ६५ रहेका छन् भने ३ सय ९२ जना निको भएको भण्डारीले बताए, उनले भने- जसमध्ये २ सय ४ जना महिला र २ सय ६१ जना पुरुष रहेका छन् । यसरी कोरोना भाइरस रोकथामका लागि र जिल्लाका आम जनताहरुको स्वास्थ्य हितमा यति ठूलो रासी बराबरको स्वास्थ्य सामाग्री उपलब्ध हुनुले पक्कै पनि सकारात्मक सन्देश दिएको उनले बताए । साथै, भण्डारीले सहयोगी हातहरु सोनाम लामा, बिकल शेरचन, नवीन शेरचन र सिङ्गो एन आर एन ए सबैलाई हार्दिक आभार एवम् धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV