१३ असार २०७८, आईतवार

भन्छन्– समयले कहिल्यै पनि पर्खंदैन । आज त्यही भएको छ, हजाराैँ युवा विद्यार्थीहरूकाे उर्बर समय बर्बादीतिर धकेलिएकाे छ । जुन अभिलाषा बोकेर विश्वविद्यालय प्रवेश गरेका थिए, हजारौं विद्यार्थीहरुको भविष्यको अहिले कुनै महत्व छैन । उल्टाे निराशा हात लागकाे छ । देशका खम्बा मानिने विश्वविद्यालयमा अध्ययनरत युवायुवतीहरु मनभरि पीडा बोकेर त्यसको रापतापमा पिरोलिएका छन् ।

सरकारी विद्यालयदेखि विश्वविद्यालय तहसम्म हेर्ने हो भने धनीमानीका छोराछोरी भन्दा गरिब, किसान र मध्यम वर्गका छोराछोरी बढी पढ्ने गरेको पाइन्छ । धनीका छोराछोरीहरुलाई त कि महंगा बोर्डिङ, निजी शिक्षालय कि विदेश छँदै छ । सरकारी शिक्षालयमा भने हजारौं सपनाहरू बोकेर देश र समाजका लागि केही गर्न सकूँ भन्ने उद्देश्य बोकेका विद्यार्थीको ठूलै संख्या छ । उनीहरु सोच्छन्– एउटा स्वच्छ समाजको निर्माण होस्, हरेकले आफ्नो देश र समाजप्रति आफ्नो उत्तरदायित्व निर्वाह गर्न सकुन् । तर खै सपनाहरू रातभरिलाई मात्रै भए, आखिर उनीहरुको पीडा बुझ्ने ठाउँ नै भएन । खै कसले कसको पीडा बुझ्छ र ? देशमा शान्ति, अमनचयन भन्ने त कतै छैन । हरेक ठाँउमा खिचातानी मात्रै मौलाउन पुगेपछि इमानदारीताको के सीप चल्थ्यो र ?

कुरो, विद्यार्थीहरुको भविष्य र समयको हो । कोरोनाले बन्दाबन्दी भएको डेढ वर्ष भैसक्यो । दुई वर्षमा पूरा हुने एमएड तहको पढाइ तीन–तीन वर्ष पुग्दासम्म तेस्रो सत्रको परीक्षा समेत हुन सकेको छैन । देशको सबैभन्दा ठुलो शैक्षिक थलो भनेकै विश्वविद्यालय हो, त्यो पनि त्रिभुवन विश्वविद्यालय मुलुककै ठूलो मानिन्छ । देशका लागि चाहिने हरेक क्षेत्रमा उपयुक्त जनशक्ति उत्पादन गर्ने, देशको शिक्षा प्रणालीलाई समयसुहाउँदो बनाउन सक्ने, पाठ्यक्रम, पाठ्यसामग्री तयार गर्ने विज्ञ उत्पादन गर्ने क्षेत्रले नै आफैँले के गर्ने भन्ने निर्णय लिन सकेको छैन । भन्न त विद्वान भन्नेहरु अनि केही प्रमुख जिम्मेवारी पाएकाहरुले कतिपय अवस्थामा शैक्षिकसत्र खेर जान नदिने भन्ने कुरा आएको छ । तर खै त्यो शैक्षिकसत्र खेर नजान दिनु भनेको के रहेछ, यहाँ दुई-तीन वर्ष सत्र पछाडि धकेलिसकिएको छ ।

२०७५ माघ/फागुनमा एमएड प्रथम सत्रमा भर्ना भएका विद्यार्थीले सत्र प्रणाली अनुसार २०७७ माघरफागुनमै तह पूरा गरेर कार्यक्षेत्रमा जानुपर्ने हो । तर खै ३ वर्ष सम्म पनि तेस्रो सत्रको परीक्षा हुन सकेको छैन । प्रत्येक सत्रको परीक्षा ६र६ महिनामा हुने र नतिजा ३ महिनामा प्रकाशन गर्ने सत्र प्रणालीको नियम हो । तर यहाँ परीक्षा भएको १ वर्ष बित्नलाग्दासम्म पनि नतिजा नै प्रकाशित हुँदैन ।

वैकल्पिक माध्यमबाट हुने कामहरु, परीक्षा, नतिजा प्रकाशनलगायत कार्यमा चुस्त गति लिन कसले रोकेको हो ? युवाहरुले केवल रोगबाट बचेर मात्र भएन, घर-परिवार, समाज र सिंगो देशका लागि जिम्मेवारी उनीहरुकै काँधमा छ । यस अवस्थामा विश्वविद्यालयमा अध्ययनरत युवा-विद्यार्थीहरुले कहिलेसम्म अन्योलमै बस्नुपर्ने हो ?

केही गरौँ भन्ने मानसिकता बोकेका विद्यार्थीहरुका लागि सत्र प्रणालीअनुसार क्याम्पसको समयमा बाहिर काम गर्न नमिल्ने, ८०५ हाजिरी हुनुपर्ने, हरेक क्रियाकलापमा भौतिक उपस्थिति हुनुपर्ने, ४०५ मूल्याकंन आन्तरिक हुने भनेर नियम नै बनाइएको छ । र, विद्यार्थीहरुले विश्वविद्यालय छोडन मिल्दैन । तर विश्वविद्यालय भने आफैँ नियममा चल्दैन । बन्दाबन्दीको समयमा न त विश्वविद्यालयले कुनै निर्णय नै दिन्छ, न त अन्य कुनै काम गर्ने माहोल नै छ । हाम्रो शिक्षा प्रणाली जति मजबुत बन्छ, जति प्रशासनिक कार्यहरुले तीव्रता पाउछन्, सम्बन्धित निकायमा हाम्रा मान्छे नभई राम्रा मान्छेले स्थान पाउँछन्, तब मात्र यो थलोको अवस्था सुध्रिएला । यसो भयो भने शिक्षाको क्षेत्रमा समयानुकूल अगाडि बढाउन कसो नसकिएला र ?

देशको मुख्य सक्रिय जनशक्ति भनेकै युवायुवतीहरु हुन् । तिनीहरूको भविष्यका लागि राज्यका सम्बन्धित निकाय र विश्वविद्यालयजस्ता शैक्षिक क्षेत्रले समयमै सही निर्णय गर्न नसकेमा कुन क्षेत्रमा राम्रो हुन सक्ला र ? कोरोनाले सबै क्षेत्रमा असर गरेकै छ । तर शैक्षिक क्षेत्रमा असरभन्दा बढी लापरबाही पनि देखिन्छ । वैकल्पिक माध्यमबाट हुने कामहरु, परीक्षा, नतिजा प्रकाशनलगायत कार्यमा चुस्त गति लिन कसले रोकेको हो ? युवाहरुले केवल रोगबाट बचेर मात्र भएन, घर-परिवार, समाज र सिंगो देशका लागि जिम्मेवारी उनीहरुकै काँधमा छ । यस अवस्थामा विश्वविद्यालयमा अध्ययनरत युवा-विद्यार्थीहरुले कहिलेसम्म अन्योलमै बस्नुपर्ने हो ?

पछिल्लाे समय त्रिविप्रति आम विद्यार्थीमा निराशा झल्किन्छ । कतिपय विद्यार्थीहरु त्रिवि रोज्नुको कारण काठमाडौँमा बस्नपाउने भन्ने रहर मात्रै पनि होला । तर धेरैका लागि बाध्यता पनि हो । उच्चशिक्षाका लागि अध्ययन क्षेत्र उसै त कम छन् नेपालमा, त्यसमा पनि प्रभावकारी छैनन् । अनि देशकै राम्रो मानिएको विश्वविद्यालय झन् आकर्षणकै केन्द्र हुनुपर्ने हो तर अहिले यो वितृष्णाको केन्द्र किन बन्न पुग्दैछ ?

दुई वर्षमा पढाइको कोर्स पूरा गर्न पाइन्छ भन्ने सोचका साथ हजारौं सपना बोकेर विश्वविद्यालय छिरेका गरिब जनताका छोराछोरीलाई जहाँ नतिजा नै कुर्न एक एक वर्ष लाग्छ भने अरु प्रगतिको के आश गर्नु ? दुई वर्षको लागि साहुको रिन निकालेर आएका विद्यार्थीहरु अन्योलमा बस्नुपर्दा अझै कति वर्षका लागि रिन निकालेर काठमाडौंमा घरधनी र व्यापारीहरुको सिकार बन्नुपर्ने हो ? अझ उर्वर समय यता न उता भएर कति वर्ष खेर फाल्नुपर्ने हो ? कि यो कुरा राज्य र सम्बन्धित निकायले ध्यान दिनु जरुरी छैन ?

राज्यले त खै कसरी ध्यान देओस् र दिन पनि ? जता पनि कुर्सीकै लिप्सा, सत्ताकै खिचातानी मात्र छ । न जनताको पिर छ न महामारीको चिन्ता । न त युवा तथा विद्यार्थीहरुको भविष्यको चिन्ता छ, न कुनै जनजीविकाका सवालको ख्याल छ । यस्तो राज्यद्वारा पालित शैक्षिक निकायमा उत्कृष्टता खोज्नु सायद हाम्रौ धृष्टता हो ।

महामारी र लकडाउन पनि नेताहरुका लागि हैन, जनताकै लागि रहेछ । राजनीतिक आन्दोलन, सभा–समारोह गर्दा पो कोरोना फैलिन्न तर सुरक्षित रुपमा स्वास्थ्यका मापदण्ड अपनाएर आफ्नो ख्याल राख्न सक्ने विश्वविद्यालय स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा समयमै गर्दा पो कोरोना सर्छ भन्ने मानसिकताले गाँजेपपछि कसरी उन्नति हुन्छ ? कसरी समय खेर नजाओस् त अनि ? जताततै राजनीतिले गाजेपछि सोझासाझा जनता, गरिबका छोराछोरी र आफ्नो देशमा केही गर्नुपर्छ भन्ने असल अठोट बोकेका युवाहरूका लागि सोच्ने फुर्सद कसलाई छ र ? तर अब यसरी कतिन्जेल बस्ने चल्छ, युवा विद्यार्थीहरुको उर्बर समय खेर जान नदिन बेलैमा सम्बन्धित निकायको ध्यान जाओस् ।

(लेखिका त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, केन्द्रीय विभागमा एम.एड. तेस्रो सत्रमा अध्ययनरत छिन्)

प्रतिक्रिया दिनुहोस्

LIVE TV