१३ असार २०७८, आईतवार

काठमाडौं । इटाली युरोपेली च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अस्ट्रियामाथि २-१ को जित निकाल्दै इटाली अन्तिम आठमा प्रवेश गरेको हो ।

खेलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा इटालीले दुई गोल गर्‍यो भने अस्ट्रियाले एक गोल मात्रै गर्‍यो ।

अतिरिक्त समयको ९५ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेडेरिको किएजाले गोल गर्दै इटालीलाई अग्रता दिलाए । उनले किएजाले स्पिनाजोलाको पासमा गोल गरेका थिए ।

इटालीले खेलको १०५ मिनेटमा दोस्रो गोल गर्‍यो । आर्सबीको पासमा माटेओ पेसिनाले गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए । अस्ट्रियाका लागि कालजडिकले ११४ मिनेटमा गोल फर्काउँदै टिमलाई खेलमा फर्काउने कोशिस गरेका थिए।

अब अन्तिम आठमा इटालीले बेल्जियम वा पोर्चुगल मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ। उक्त क्वाटरफाइनल खेल २ जुलाईमा म्युनिखमा हुनेछ ।

अष्ट्रियालाई हराउँदै इटालीले नयाँ राष्ट्रिय कीर्तिमान समेत कायम गरेको छ । लगातार ३१ खेल अपराजित रहँदै इटालीले ८२ वर्ष पुरानो कीर्तिमान तोडेको हो ।

यसअघि इटालीले सन् १९३५ अक्टोबरदेखि सन् १९३९ जुलाईसम्म ३० खेल अपराजित रहने कीर्तिमान राखेको थियो । त्यसबेला टोलीका प्रशिक्षक भिटोरियो पोज्जो थिए । उनको नेतृत्वमा टोलीले लगातार दोस्रो विश्वकप तथा सन् १९३६ को ओलम्पिकमा स्वर्णपदक समेत जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV