१२ असार २०७८, शनिबार
  • हरिशंकर शर्मा,

वीरगञ्ज (पर्सा) । पर्साको क्षेत्र नंं. १ का सांसद प्रदीप यादवको संसदीय विकास कोषको रकमबाट निर्माण भइरहेको सडक ढलान तथा नाला निर्माण कार्यमा उपभोक्ता समितिले अनियमितता गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।

वीरगञ्ज महानगरपालिका–३१ बेल्वा, कोनिया गाउँमा उपभोक्ता समितिमार्फत भइरहेको सडक ढलान तथा नाला निर्माण कार्यमा उपभोक्ता समितिका अध्यक्षलगायत केही सीमित पदाधिकारीहरुले आफ्नो हैकमवादी तरिकाले निर्माण कार्य गरिरहेको स्थानीयले बताएका छन् ।

आफूले चाहेको ठाउँमा सडक ढलान गर्ने, नचाहेको ठाउँमा नगर्ने, आफ्नो विपक्षी पार्टीका नागरिकहरुको नाला निर्माणको नाममा घर तोडेर नाला समेत निर्माण नगरेको स्थानीयहरुको आरोप छ ।

उपभोक्ता समितिमा १३ जना पदाधिकारी रहेपनि अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिवलगायतका पदाधिकारीहरुले आफ्नो मनोमानी तरिकाबाट सडक एवं नाला निर्माणको कार्य गरिरहेको उपभोक्ता समितिको सदस्य समेत रहेका स्थानीय सुभाष गुप्ताले आरोप लगाए ।

नाला निर्माणको क्रममा कसैसँग सल्लाह सुझाव लिइएको छैन, समितिका सम्पूर्ण पदाधिकारीहरुको जानकारी विना नै काम भइरहेको भन्दै गुप्ताले २२ लाख रकम २५ फिट सडक मात्रै निर्माण गरेर बाँकी रकम बाँडफाँड गरेको बताए ।

करिब ६० लाखको बजेटमा १ सय ८२ मिटरमा सडक ढलान गर्नुपर्ने थियो तर, उपभोक्ता समितिले पहिलो चरणमा २८ लाखको लागतमा १५७ मिटर ढलान सडक र एकतर्फ मात्रै नाला निर्माण गरिएको छ ।

दोश्रो चरणमा २५ फिट ढलान सडकमा मात्र २२ लाख रुपैया खर्च गरी व्यापक भ्रष्ट्रचार गरेको गुप्ताको भनाइ छ । विकास निर्माण कार्यमा भइरहेको भ्रष्टाचारबारे बोल्दा उल्टै कुटपिट गर्न आउने, बोल्नेविरुद्ध उजुरी दिने जस्ता कार्यहरु अध्यक्षले गर्दै आएको भन्दै गुप्ताले भ्रष्टाचार विरुद्ध स्थानीयहरुले उजुरी दिदाँ समेत कुनै सुनवाई नभएको बताए ।

समितिको दादागिरीबारे उच्च अदालतमा मुद्दा समेत दर्ता गराइएको छ । सांसद यादवको संसदीय विकास कोषबाट सदन शहरी तथा भवन निर्माण आयोजना कार्यालय मार्फत समाजवादी पार्टीका स्थानीय नेता विरा राउत कुर्मीकै अध्यक्षतामा उपभोक्ता समिति गठन गरि निर्माणको जिम्मा दिएको थियो ।

आयोजना कार्यालयको लागत अनुमान बजेट ४८ लाख र जनश्रमदानबाट १२ लाख ३१ हजार ४०२ रुपैया गरी कुल ६० लाख ३१ हजार ४०२ रुपैयाको लागतमा ग्राइभेल सडक र नाला निर्माणको उपभोक्ता मार्फत जिम्मा दिएको थियो ।

सांसद यादवले आफ्नो संसदीय कोषबाट ग्राभेल सडक, नाला निर्माणको लागि ५० लाख बजेट छुट्याएका थिए । यादव निकट पार्टीका नेता कार्यकर्ताले नै उपभोक्ता समिति बनाई सडक तथा नाला निर्माणमा व्यापक भ्रष्ट्रचार गरेको उनको आरोप छ ।

लागत स्टिमेट सडकको दुबैतर्फ नाला निर्माण गरि सडक ग्राभेल गर्नुपर्ने थियो तर उपभोक्ता समितिका अध्यक्ष कुर्मीले आफ्नो बल प्रयोग गरि मनोमानी ढंगले एक तर्फको नाला मात्रै निर्माण गरि बजेटमा अनियमितता गरेको स्थानीयहरुको आरोप छ ।

गाउँमा विकासको लागि बजेट आएकोबारे जानकारी पाएपछि स्थानीयले गाउँभरमै भेला भई आवश्कता अनुसारको निर्माण कार्यमा बजेट प्रयोग गर्ने निर्णय गरियो थियो । सोही निर्णय अनुसार कतिपयले बाटोमा पर्ने आफनो संरचनाहरु भत्काएको स्थानीय शंकर पटेलले जानकारी दिए ।

उनका अनुसार संरचना भत्काए पनि सडक र नाला दुवै निर्माण गरिएको छैन, जसको कारण वर्षा याममा पानीको निकाश नभई दर्जनौं घरमा पानी जम्ने गरेको छ । सडक ढलानमा कमशल सामग्री प्रयोग गरेकोमा विरोध गर्दा उल्टै हातपात गरि धपाउने गरेको स्थानीयहरुको आरोप छ ।

अव्यवस्थित सडक तथा नाला निर्माणका कारण दुई सडकबीच रहेको ५० भन्दा बढी घरधुरीमा पानी जम्ने गरेको छ । पानीको निकास छैन, उपभोक्ता समितिले नै गाउँको पानी निकास गर्न तीन ठाउँमा नाला निर्माण गर्ने सहमति गरेको थियो तर, उपभोक्ता समितिले आफ्नो मनोमानी ढंगबाट नाला निर्माण गरेको कारण पानी निकास हुन सकेको छैन ।

यता उपभोक्ता समितिका अध्यक्ष विरा राउत कुर्मीले आफूमाथि लगाइएको आरोप निराधार रहेको बताए । काम गर्ने क्रममा सबैको चित्त बुझाउन सकिदैन, केहि राजनीतिक पूर्वाग्राहीका कारण व्यक्तिगत स्वार्थ पूरा नहुदाँ आफूमाथि गलत आरोप लगाउँदै हिडेको बताए ।

उनका अनुसार १८२ मिटर सडक ढलान र नाला निर्माण गर्ने स्टिमेट भएपनि एकतर्फको नालाको आवश्यकता नदेखिएकोले एक तर्फको नालालाई काटी सडक ढलान कार्यको लम्बाई बढाएर बनाइएको बताए ।

सदन शहरी तथा भवन निर्माण आयोजनाबाट २०७७ माघ १२ गते ठेक्का सकार गरेका उपभोक्ता समितिले २०७७ चैत्र १२ गते निर्माण सम्पन्न गर्नुपर्नेमा २०७८ को असार मसान्तको पहिलो साता मात्र काम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV