१२ असार २०७८, शनिबार

पाेखरा । गण्डकी प्रदेश सरकारका मन्त्रीहरूको कार्यविभाजन टुंगो लगाइएको छ । गत जेठ २९ गते मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त भएर शपथ ग्रहण गर्दा सँगै ४ जनाले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए । चारै जना मन्त्रीहरुको कार्यविभाजन टुंगो लागेको हो ।

यसअघि केही मन्त्रालयमा भागवण्डा नमिल्दा गठबन्धन दलहरुभित्रै विवाद बढेको बताइएको थियो । अन्ततः चारैजना मन्त्रीहरुको कार्यविभाजनमा सहमति जुटेको हो । जसअनुसार नेपाली कांग्रेसका कुमार खड्काले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने माओवादी केन्द्रबाटकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

यसअघि अर्थ मन्त्रालय र भौतिक विकास मन्त्रालयको जिम्मेवारी बारे विवाद भएको थियो । कांग्रेसका खड्काले यी दुईमध्ये एक दाबी गर्दै आएका थिए, तर अन्तमा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी लिन उनी सहमत भएको बताइन्छ ।

यसैगरी, जनता समाजवादीका हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् भने स्वतन्त्र रुपमा निर्वाचित भएर आएका दीपक मनाङेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

हाल अर्थ मन्त्रालय, भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानुन र कृषि, पर्यटनलगायतका बाँकी मन्त्रालय मुख्यमन्त्री पोखरेलले नै राखेका छन् । यी मन्त्रालयमा चाँडै नयाँ मन्त्रीहरु नियुक्त गरी कार्यविभाजन गरिने बताइएको छ ।

LIVE TV