११ असार २०७८, शुक्रबार

रौतहट । पूर्व–पश्चिम राजमार्ग अन्तर्गका अधिकासं पुलहरु साँधुरा तथा जीर्ण भएका छन् । तत्कालिन राजा महेन्द्रको पालामा विक्रम सम्वत २०१९ सालमा निर्माण शुरु गरिएको सो राजमार्गमा अधिकासं पुलहरु सोही समय आसपास निमार्ण भएका हुन् । सो बेलाको सवारी साधनको चाप र भार वहान र अहिलेको सवारीको चाप र भार वहान आकास जमिनको फरक भएपनि पुलको अवस्था भने जस्ताको तस्तै रहेका छ ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर अन्तर्गत रौतहटको धन्सार पुलदेखि सर्लाहीको बाँके पुलसम्म साना ठुला गरेर ३३ वटा पुलहरु र ११ वटा कल्भर्ट रहेका छन् । ती पुलहरुको सरदर चौडाइ साढे ५ मिटरदेखि ६ मिटरसम्म रहेका छन् , जुन दुइ लेनभन्दा पनि सानो हो । त्यसमाथि ठुला पुलहरुको दुबैतर्फ पैदल यात्रु हिड्नको लागि बाटो छुट्याइएको हुन्छ । दुइलेनमा सरदर चौडाइ ७ देखि साढे ७ मिटरसम्म हुन्छ ।

राजमार्गका पुलहरु धेरै साघुरो हुनाले ट्राफिक व्यवस्थापन निकै चुनौतिपूर्ण बन्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट प्रमुख प्रहरी निरीक्षक ज्ञान बहादुर माझीको भनाइ छ । उहाँका अनुसार साघुँरा पुलमा दोहोरो गाडी नचल्ने भएकाले एकातिरबाट गाडी आउँदा अर्कोतर्फ पर्खनुपर्दा दैनिकजस्तो पुलहरुमा सवारीसाधनको जाम लाग्ने गरेको छ ।

राजमार्गमा रहेका अधिकासं पुराना पुलहरु कम्पोजिट फम्र्याटमा निमार्ण गरिएका छन् । जुन पुलमा तल मेटल फ्रेम र माथि कंक्रिटको संरचना राखेर बनाइएको छ । दशकौ पहिलाको सवारी चापलाई मध्यनजर गरेर बनाइएको पुलले अहिलेको सवारी चापलाई धान्न असम्भवजस्तै भएपनि त्यसको कुनै विकल्प भने सवारी चालकहरुसँग छैन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन रौतहटको तथ्याङ्क अनुसार नेपालभरी सवारी करिब ३५ लाख सवारी साधनहरु रहेका छन् भने वार्षिक करिब ४ देखि ६ लाख सवारी साधनहरु थपिने गर्छन् । एक त साँघुरो पुल त्यसमाथि पुलमाथिका अधिकासं सडकहरु भत्किएर जिर्ण भएका छन् । जसले गर्दा पुलहरुमा दैनिकजसो सानाठुला दुर्घटनाहरु भइरहन्छन् । पुलकै कारण सवारी चलाउनु निकै चुनौतिपूर्ण रहेको सवारी चालक नरराज आर्चायको गुनासो छ ।

पूर्व पश्चिम राजमार्गमा दैनिक हजारौको संख्यामा सवारी साधनहरु ओहोर दोहोर गर्छन् । एउटा लोड गरिएको ट्रकको सरदर तौल ३२ टनसम्म हुनेगर्छ । जुन भार क्षमता धान्न पुलहरुले नसक्ने अवस्था रहेको छ । पुलहरु निकै पुरानो भइसकेका तिनीहरुको आयु पनि सकिसकेको हुनाले तिनीहरुलाई भत्काएर नयाँ बनाउनुपर्ने समय आइसकेको जानकारहरु बताउँछन् । पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतीको जिम्मा विश्व बैंकले लिइसकेकाले सडक विस्तारको क्रममा साना पुलहरु भत्काएर नयाँ बनाउने र ठुला पुलहरु थप्ने योजना रहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले कायम मुकायम प्रमुख नरेश प्रसाद केशरीले जानकारी दिनुभयो ।

यसरी दशकौ पुराना पुलहरु दुर्घटनाका कारकहरु बनिरहँदा नेपाल सरकारले यसको विकल्प खोज्नुपर्ने अत्यावश्यक भइसकेको छ । राजा महेन्द्रको पालका बनेका देशकै प्रमुख राजमार्गमा रहेका पुलहरु जीर्ण र साघुँरा हुँदापनि यसको स्तरउन्नती गर्नका लागि राजालाई गाली गरेर नथाक्ने गणतन्त्रका नेता तथा सरकार प्रमुखहरुलाई भएको छैन् । यसमा सरोकारवाल निकायको ध्यानाकर्षण हुनु अत्यावश्यक भइसकेको स्थानियको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV