१० असार २०७८, बिहीबार
  • बाल बिक्रम कार्की,

रौतहट । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री प्रभु साहले निर्वाचन आयोगलाई ९ वर्षसम्म पनि पार्टीको महाधिवेशन नगर्ने पार्टी अध्यक्ष र पार्टी कसरी वैधानिक भयो ? भन्दै प्रश्न गरेका छन् ।

रौतहटको मौलापुर नगरपालिकाको पाँचौ नगरसभालाई सम्बोधन गर्ने क्रममा नेता साहले वि.सं.२०६९ सालपछि सो पार्टीको महाधिवेशन नभएको भन्दै नेपालको संविधान अनुसार सो पार्टी खारेज भइसकेको जिकिर गर्दै निर्वाचन आयोगले दबाब र प्रभावमा नपरी आफ्नो कारवाही अगाडि बढाउनुपर्ने माग गरे ।

सम्बोधनको क्रममा उनले आवाधिक महाधिवेशन नगर्ने माओवादी केन्द्र पार्टी र त्यसका अध्यक्ष प्रचण्ड दुबै अवैध भएको जिकिर गरेका छन् । ‘म प्रचण्डलाई सोध्न चाहन्छु माओवादी केन्द्र पार्टी वैधानिक छ कि छैन् ?’ उनले भने, ‘आफूलाई पार्टीको अध्यक्ष बन्नुहुन्छ । कुन नियम कानूनले उनी अध्यक्ष भए म सोध्न चाहन्छु ।’

उनले ५ वर्षमा एक पटक कुनैपनि पार्टीको महाधिवेशन हुनुपर्ने संविधानमा उल्लेख भएपनि माओवादी केन्द्रले ९ वर्षसम्म पनि महाधिवेशन नगरी चुपचाप बस्दा निर्वाचन आयोगले पनि केही नगरेको आरोप लगाउँदै निर्वाचन आयोगलाई संवैधानिक निकायको रुपमा निष्पक्ष भएर काम गर्न र कुनै नेताको कठपुतली नबन्न सुझाए ।

उनले ९ वर्षमा पनि पार्टीको महाधिवेशन गर्न नसक्ने प्रचण्डले जनतासामु नैतिक रुपमा आफू अध्यक्ष नरहेको भन्नुपर्नेमा उल्टै पार्टी अध्यक्षको रुपमा देशलाई गुमराहमा लैजान खोजिरहेको आरोप लगाए ।

एमाले र माओवादी मिलेर चुनाव लड्ने माओवादी कार्यकर्ताको चाहना नभएर केवल प्रचण्डको चाहना रहेको जिकिर गर्दै उनले चुनावमा एमाले समर्थकको भोटले सासंद बनेपनि अहिले आएर काँग्रेसलाई समर्थन गरेर अनैतिक कार्य गरेको आरोप लगाए ।

‘प्रचण्डले कांग्रेससँग मिलेर छोरीलाई जिताएपछि एमालेसँग मिलेर सांसद बन्ने लोभ प्रचण्डमा पलायो’ उनले भने, ‘कम्युनिष्ट पार्टी बनाउछौ भन्दै एमालेको पनि भोट लिएर सासंद बने तर अहिले काँग्रेसलाई समर्थन गरेर उनी अनैतिक काम गर्दैछन् ।’

वैधानिक रुपमा पार्टीकै अध्यक्षनै नरहेका व्यक्ति अहिले सबैको पद खोस्दै हिडेको आरोप लगाउँदै नेता साहले निर्वाचन आयोगले प्रचण्डको गल्तीमाथि अंकुश लगाउनुपर्ने माग पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV