१० असार २०७८, बिहीबार

काठमाडौँ । लोकपप गायक सुनिल गिरीको ‘को होला त्यो’ गीतको फिमेल भर्सनको भिडियो सार्वजनिक भएको २४ घण्टामा नै ट्रेन्डिङमा आएको छ । यो समाचार तयार पार्दासम्म भिडियो ९ लाख बढीले हेरिसकेका छन् ।

चर्चित गायिका अस्मिता अधिकारीको आवाज रहेको गीतमा गायक गिरीको शब्द तथा संगीत रहेको छ भने एरेन्ज गोपाल रसाइलीको रहेको छ ।

निषेधाज्ञा अगाडि कालिन्चोक, चरिकोट मुडेलगायतका रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियोमा लोकप्रिय नायक तथा मोडल पल शाह र नायिका तथा मोडल प्रकृति श्रेष्ठकै अभिनय रहेको छ ।

८ वर्ष अगाडि पल र प्रकृतिलाई नै लिएर ‘को होला त्यो’ बोलको गीत बजारमा ल्याएका सुनिलले सोही टिमलाई लिएर बजारमा ल्याएको ‘को होला त्यो’ को फिमेल भर्सनले अझै चर्चा पाएको र राम्रो प्रतिक्रिया आइरहेको गायक गिरीले जानकारी दिए ।

अनिल कृष्ण मानन्धरको छायांकन र निर्देशन रहेको भिडियोको सम्पादन र कलरिङ मनोज कार्कीले गरेका हुन् । गायक गिरीकै अफिसियल युट्युब च्यानलमार्फत बजारमा ल्याइएको भिडियोलाई कृपा सनफ्लावर तेलले प्रायोजन गरेको हो ।

सार्वजनिक गीतमा उत्कृष्ट टिकटक बनाउनेलाई २५ हजार नगद उपलब्ध गराइने गायक गिरीले जानकारी दिए । जुन रकम कृपा सनफ्लावर तेलले नै ब्यवस्था गर्नेछ । टिकटकमा आएको सर्वाधिक भ्यूज, लाइक कमेन्टका आधारमा एक जनालाई पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV