१० असार २०७८, बिहीबार

रौतहट । रौतहटको मौलापुरमा प्रहरी र पदर्शकारीबीच झडप हुँदा ९ सुरक्षाकर्मी घाइते भएका छन् । सो नगरपालिकामा बिहीबार बिहान १० बजेबाट नगरपालिकाको पाचौं नगरसभा सुरु हुने भनिएपछि मौलापुर अशान्त बनेको थियो ।

सो नगरपालिकाकी नगरप्रमुख रिना कुमारी साहको अध्यक्षता एवम् पूर्वमन्त्री प्रभु साहको उपस्थितिमा भएको सो नगरसभा रोक्नुपर्ने माग गर्दै नेपाली काग्रेस, माधव नेपाल समूह, उपेन्द्र यादवको राजपा समूहलगायतका विपक्षी गठबन्धनले मौलापुर चौकमा विरोध प्रदर्शन गरेका थिए ।

सो समूहलाई रोक्न नेता साहका समर्थकहरु पनि चौकमा उत्रिएपछि दोहोरो झडपको स्थिति सृजना भएको थियो । स्थिति उग्र भएको भएपछि झडप नियन्त्रणमा लिन प्रहरीले १४ राउन्ड हवाई फायर तथा २३ राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाहका अनुसार झडपमा ४ सशस्त्र र ५ नेपाल प्रहरी सहित ९ सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीलाई लक्षित गरि विपक्षी गठबन्धनका प्रदर्शनकारीहरुले ढुङ्गा, मुढा तथा सिसाका बोतलहरु प्रहार गरेका थिए ।

विकास विरोधीहरुले मौलापुरमा भएको विकास देख्न नसकेर अनाश्यक बखेडा झिकेको साहका पक्षधरका नेता पूर्व प्रदेश सभा सदस्य कुन्दन कुशवाह भनाइ छ । उनले नेता प्रभु साह र नगरप्रमुख रिना कुमारी साहले मौलापुरमा विकासको लहर ल्याएपछि अरु राजनीतिक दलले आफूहरुको पत्तासाफ हुने देखेपछि विरोधको लागि मात्र विरोध गरेको दावी गर्दै जनता सचेत भइसकेकाले त्यस्ता विकास विरोधीहरुलाई जनताले लखेट्ने ठोकुवा पनि गरे ।

झडपको क्रममा मौलापुर बजार दिनभर तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा जिल्लाका विभिन्न स्थानहरुबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली मौलापुर पुगेको थियो ।

मौलापुर नगरपालिकाको पाचौं नगरसभा नगरपालिकाको हलमा चलिरहँदा बाहिर भने हातमा बाँसको फराठा बोकेका दुई पक्षबिच केहीबेर लखेटा लखेट भएको थियो । विरोध प्रदर्शनकै बीचमा भने नगरसभा भने सम्पन्न भएको थियो ।

एमाले नेता प्रभु साहकी श्रीमती रिना साह नगरप्रमुख रहेको मौलापुर नगरपालिकामा आर्थिक अनियमितता भएकाले आफूहरुले हिसाब किताब पारदर्शी बनाउनु पर्ने माग गरेपनि पेलेरै जान खोजेपछि आन्दोलनमा उत्रनु परेको माओवादी केन्द्रका नेता विन्देश्वर यादवको भनाइ छ ।

उनले प्रभु साहले आफ्नो शक्तिको आडमा विपक्षीहरुलाई प्रहरी प्रशासन लगाएर पेल्न खोजेको आरोप लगाउँदै मौलापुरमा चार वर्षदेखि भएको आर्थिक अनियमिताको भण्डाफोर गरेर छाड्ने दावी गरे ।

केही दिन अघिपनि नगरपालिका अगाडि विपक्षीहरुले विरोध प्रदर्शन गरेका थिए भने बुधबार सयौँको संख्यामा नेता साहका सर्मथकहरुले मौलापुर बजारमा प्रदर्शन गरेका थिए ।

आजको नगरसभामा दुबै पक्ष बीचमा सम्भावित झडपलाई मध्यनजर गर्दै बिहानैदेखि मौलापुर बजारमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । साँझपख जिल्ला प्रहरी कार्याल रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठ र प्रदर्शनकारी बीचमा वार्ता भएपछि माहोल शान्त बनेको छ ।

प्रदर्शनकारीले दमन गर्ने प्रहरीलाई कावरवाही गर्नुपर्ने, मौलापुर नगरपालिकाले चार वर्षको सम्पूर्ण हिसाब किताब पारदर्शी गरेर पुनः नगरसभा गर्नुपर्नेलगायतका मागहरु राखेका छन् । सो माग पूरा नभए पुनः आन्दोलनमा उत्रने चेतावनी उनीहरुले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV