१० असार २०७८, बिहीबार
  • हरिशंकर शर्मा,

वीरगंज (पर्सा । वीरगञ्ज महानगरपालिका छपकैयास्थित डोम बस्तीमा निर्माण भइरहेको जनता आवास कार्यक्रम अन्तर्गतका घरहरु समयमा निर्माण हुन नसक्दा दलित परिवारहरु बिचल्लीमा परेका छन् ।

वर्षौदेखि फुसको छाप्रोमा जीवन विताउँदै आएका दलित परिवारको पक्की घर निर्माण हुने भएपछि खुसी भएका थिए । तर, त्यो खुसी लामो समयसम्म टिक्न सकेन । अहिले घर नबनेकै कारण दुई जना घाइतेमध्ये एक जनाको जीवन नै अन्यौलमा परेको छ ।

जनता आवास कार्यक्रम अन्तर्गत पक्की घर बनाइदिने भन्दै डोम बस्तीका २० परिवारलाई गत माघ/फागुनमा फुसको छाप्रो भत्काउन लगाइएको थियो । एक दुई महिना भित्रै घर निर्माण गरेर हस्तान्तरण गर्ने भनिएको थियो तर, ६ महिना भन्दा बढी वित्न लाग्दा पनि निर्माण कार्य सम्पन्न नभएको कारण वर्षा याममा सास्ती खेप्नु परेको स्थानीयहरुको गुनासो छ ।

उनीहरुले भने, ‘घर निर्माणका लागि फुसको छाप्रो भत्काएर अहिले अरुको जग्गामा बाँसको टहरा बनाएर बसेका छौं । हावाहुरीको कारण यही छाप्रो भत्किँदा दुई जना घाइते भएका छन् । जसमा एक जनाको ढाँड नै भाँचिएको कारण ओछ्यानमा थला परेका छन् ।’

घाइते हुनेहरुमध्ये स्थानीय राजेन्द्र मलीको ढाँड नै भाँचिएको कारण असार १ गतेबाट ओछ्यान परेका छन् । हुरीले उडाएको आफ्नै छाप्रोको छानोले लागेर घाइते उनको उपचार गर्दा १६ हजार ऋण पनि लागेको छ, अझैं पनि उनको पूर्ण रुपमा उपचार हुन सकेको छैन ।

जस्ताकै छानो भएपनि उनको पहिलाको घर सामान्य हुरीले भत्काउने खालको थिएन । जनता आवास कार्यक्रमले पक्की घर बनाइदिने भन्दै गत माघमा भत्काउन लगाएपछि ७ जनाको परिवारको दुर्दशा शुरू भएको मलीको छोरा मलिको भनाइ छ ।

पानी पर्दा सबै छाप्रोभित्र पसेर ओढ्ने, ओछ्याउने, दाल–चामल सबै भिज्ने गरेको भन्दै स्थानीय राजेन्द्र मलीको छोरा कृष्ण मलीले भने, ‘पक्की घरको आशामा जस्ताको छानो भएको बाँसको टाटीवाला राम्रै घर भत्काइयो । यो वर्षायाममा सबैको दैनिकी जीवन अस्तव्यस्त हुने भयो ।’

जनता आवास कार्यक्रम अन्तर्गत दलित समुदायका नागरिकहरुको पक्की घर बन्ने भएपछि उनीहरु अहिले बाढी पस्ने ठाउँमा प्लाष्टिक र बोराले बारेको छाप्रोमा बसेर दैनिकी जीवन विताउँदै आएका छन् ।
गत माघ २७ गते जनता समाजवादी पार्टी (जसपा)का नेता–कार्यकर्ताको बाक्लो उपस्थितिमा ठूलो तामझामका साथ शुरू भएको थियो । नेपाल सरकारले सप्तरी, सिरहा र कपिलवस्तुमा थालेको जनता आवास कार्यक्रम पछि काठमाडौंबाहेक सबै जिल्लामा विस्तार भयो ।

आर्थिक वर्ष २०७५÷७६ बाट प्रदेश सरकारमा हस्तान्तरण भएको जनता आवासले विपन्न दलित र सीमान्तकृत समुदायलाई घाम, पानी र शीतलहरबाट जोगाउने भनिएको थियो । तर, कार्यान्वयन फितलो हुँदा लक्षित समुदाय अझ बिचल्लीमा पारेको छ ।

निर्माण कार्य कमशल, पर्खाल फाट्दै, पिलर हल्लिदै

दलित बस्तीको पुरानो घर भत्काएर जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भइरहेको घरहरुमा कमशल सामग्री प्रयोग गरिएको कारण निर्माणाधीन अवस्थामा नै पर्खालहरु फाट्न थालेका छन् भने पिलरहरु हल्लिने गरेका छन् ।

निर्माणको क्रममा बालुवाको मात्रा बढी हालेको कारण निर्माण सम्पन्न नहुँदै पिलरहरु हल्लिने गरेको र पर्खालहरु २ इन्चसम्म फाट्ने गरेको स्थानीयको गुनासो छ । ‘एउटा छड लगाएर निर्माण कार्य हुँदैछ, त्यसमा पनि सिमेन्ट र बालुवाको मात्रा कम हालिएको कारण पर्खालहरु निर्माण सम्पन्न नहुँदै फाट्ने गरेको छ’, निर्माणाधीन घरधनीहरुले भने ।

प्रदेश–२ सरकारको भौतिक पूर्वाधार मन्त्रालयको ‘जनता आवास कार्यक्रम’ ले लाभग्राही सहभागी निर्माण समितिलाई घर बनाउने रकम तीन किस्तामा ३ लाख ३६ हजार उपलब्ध गराउँछ । जग खनेपछि पहिलो किस्ता १ लाख १७ हजार ६०० रुपैयाँ–३५ प्रतिशत) र झ्यालको तहसम्म पुगेपछि दोस्रो किस्ता १ लाख ६८ हजार (५० प्रतिशत) भुक्तानी दिने व्यवस्था गरेको छ ।

घर तयार भएपछि तेस्रो किस्तामा बाँकी १५ प्रतिशत (५० हजार ४००) उपलब्ध गराइन्छ । लाभग्राहीले १० प्रतिशत योगदान गर्नुपर्छ । निर्माणका लागि स्रोत पनि कार्यप्रगतिको आधारमा सोझै लाभग्राहीलाई उपलब्ध गर्नुपर्ने व्यवस्था छ ।

उनीहरूले मात्र निर्माण सामग्री किन्न सक्छन् । तर, छपकैया डोम टोलको जनता आवास कार्यक्रममा कार्यविधिले नचिनेका जितेन्द्र पटेलको हालीमुहाली देखिएको छ । जितेन्द्र जसपाको वीरगन्ज वडा नं १ का अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV