१० असार २०७८, बिहीबार

एजेन्सी । साविक विजेता पोर्तुगल युरोपेली च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा विश्व विजेता फ्रान्सलाई २-२ को बराबरीमा रोक्दै पोर्तुगल अन्तिम १६ मा प्रवेश गरेको हो ।

कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा दुई गोल गरेपछि पोर्तुगलको हार टर्यो । फ्रान्सको लागि दुवै गाेल करीम बेन्जेमाले गरेका थिए ।

खेलेको ३० औँ मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्तुगललाई अग्रता दिलाएका थिए । फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले फ्रिकिकमा आएको बललाई पन्च गर्ने क्रममा ड्यानिलो परेराको टाउकोमा लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

पहिलो हाफमा इन्ज्युरी समयमा बेन्जेमाले पेनाल्टीमार्फत नै गोल गर्दै खेल बराबरीमा ल्याए । पोर्तुगलका डिफेन्डरले किलीयन एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

४७ औँ मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । उनले पल पोग्बाको पासमा गोल गरेका थिए । असिस्टेन्ट रेफ्रीले सुरुमा अफसाइडको संकेत दिएपनि भीएआरले गोललाई मान्यता दिएको थियो ।

६० औँ मिनेटमा पेनाल्टीमार्फत नै रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याए । फ्रान्सका डिफेन्डरले बक्सभित्र ह्यान्ड गरेपछि पोर्तुगललाई पेनाल्टी दिइएको थियो । यस गोलसँगै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा इरानका अलि दाइले राखेको १ सय ९ गोलको कीर्तिमान समेत बराबरी गरे ।

यो बराबरीसँगै फ्रान्स समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो । पोर्तुगल र जर्मनी समान ४/४ अंक भएपनि हेड टु हेडमा जर्मनी अघि रह्यो ।

पोर्चुगल पनि उत्कृष्ट ४ तेस्रो स्थाको टोलीमा पर्दै अघि बढेको छ । ३ खेलमा २ अंक जोडेको हंगेरी भने समूह चरणबाट नै बाहिरियो ।

 

 

 

LIVE TV