९ असार २०७८, बुधबार
  • हरिशंकर शर्मा,

वीरगंज (पर्सा) । वीरगञ्ज महानगरपालिकाको नगर प्रहरी चढ्ने गाडी निजी कार्यमा प्रयोग गर्ने गरिएको पाइएको छ । नगर प्रहरी चढ्ने पिकअप भ्यान नगर प्रहरीहरुले निजी प्रयोगजनका लागि किनमेल गर्न भारतीय सहर रक्सौल बजारमा लगेको भेटिएको हो ।

महानगरभित्र हुने विविध समस्यालाई समाधान गर्नका लागि खट्ने नगर प्रहरी चढ्ने प्र.२–०३–००१ झ ००३९ नम्बरको गाडी भारतीय सीमावर्ती सहर रक्सौल बजारमा किनमेल गर्न गएको अवस्थामा फेला पारिएको हो ।

नेपाल भारत खुल्ला सिमाना भएको कारण वीरगञ्जलगायत क्षेत्रका सर्वसाधारणहरु किनमेल गर्न भारतीय सीमावर्ती सहर रक्सौलमा पुग्नु कुनै नौलो कुरा होइन । तर, कोरोना महामारीको कारण नेपाल–भारत सीमा बन्द रहेको अवस्थामा सर्वसाधारणहरुलाई आवत–जावतमा रोक लगाइएको अवस्थामा नगर प्रहरी चढ्ने गाडी भारतीय सीमावर्ती सहरमा किनमेल गर्न पुगेको भेटिएको हो ।

‘सानालाई ऐन, ठूलालाई चैन’ भने जस्तै कर्मचारीहरु बन्दको समयमा पनि सीमा पारि जान सक्ने तर सर्वसाधारण भने जान नसक्ने अवस्थाको चौतर्फी विरोध भइरहेको छ । नेपाल भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले वर्तमान अवस्थामा सर्वसाधारणलाई समेत सीमा क्षेत्रमा आवत जावत गर्न नदिएको अवस्थामा नगर प्रहरीले गाडी नै लिएर भारतीय सीमावर्ती सहर रक्सौल पुगेका छन् ।

त्यसमा पनि आफ्नो निजी कामको लागि जनताको पसिनाबाट खरिद गरिएको सवारी साधनको दुरुपयोग भएको छ । महानगरभित्र हुने अव्यस्थित बजारलगायत महानगरपालिका व्यवस्थापनको लागि ड्यूटीमा खट्न महानगरपालिकाले नगर प्रहरीलाई गाडी उपलब्ध गराएको छ ।

तर, नगर प्रहरीले आफ्नो दायित्वलाई विर्सेर निजी कामको लागि सरकारी गाडीको दुरुपयोग गरेका पाइएको छ । यसबारे वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले नगर प्रहरीहरुले चढ्ने गाडी कहाँ गयो ? र के गर्दैछ भन्नेबारे आफूलाई जानकारी नहुने गरेको बताए ।

उनले नगर प्रहरी इन्चार्ज हरि भुषालको जिम्मामा रहेकोले गाडी कसरी रक्सौलसम्म पुग्यो ? भन्नेबारे आफूले बुझेर बताउने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV