९ असार २०७८, बुधबार
  • हरिशंकर शर्मा,

वीरगञ्ज (पर्सा) । पर्साको कालिकामाई गाउँपालिकामा भएको अनियमितता र भ्रष्टाचारबारे समाचार सार्वजनिक भएपछि अहिले जनप्रतिनिधि तथा कर्मचारीहरु अनियमिततालाई लुकाउन फाइल गायब गर्ने अभियानमा जुटेका छन् ।

गाउँपालिका अध्यक्ष नथुनी कुशवाहाको मृत्युपछि उपाध्यक्ष राजेश कुमार चौरसियासहित केही वडा अध्यक्षहरुले विकासको बजेटमाथि लुट मच्चाएको समाचार सार्वजनिक भएपछि जनप्रतिनिधिलगायत कर्मचारीहरु रातारात कार्यालयबाट सदरमुकाम वीरगञ्ज फाइल सारेका हुन् ।

भ्रष्टाचारबारे समाचार प्रकाशन भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रसहितका निकायहरुले सुक्ष्म रुपमा निगरानी गर्न थालेपछि अहिले कार्यालयभित्र रहेका फाइलहरु रातारात प्रमुख प्रशासकीय अधिकृतको निवासमा ओसारिएको बताइएको छ ।

विकास निर्माण योजनाका फाइलहरु अहिले बीरगञ्जको राधेमाईस्थित प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहको निवासमा सारिएको गाउँपालिकाकै कर्मचारीहरुले बताएका छन् ।

गाउँपालिकाले आर्थिक बर्ष २०७७÷७८ मा सञ्चालनमा रहेको बिकास निर्माण सम्बन्धी कागजात सञ्चारकर्मीहरुले माग्दा कर्मचारीहरुले कार्यालयमा कुनै कागजात नरहेको र सबै कागजात प्रमुख प्रशासकीय अधिकृतले लगेको जवाफ दिएका थिए ।

आर्थिक मसान्तको अन्तिम अवस्थामा कागजी विकास गरेर अनियमित रुपमा बजेट पचाउन पल्किएका जनप्रतिनिधिहरु कारवाहीमा पर्ने भएपछि कागजात मिलाउनका लागि प्रमुख प्रशासकीय अधिकृतलगायत लेखा अधिकृत समेतको निवासमा फाइलहरु पु¥याइएको बताइएको छ ।

उपभोक्ता समितिको नाममा ठेकेदारद्वारा निर्माण कार्य गरिँदै

आर्थिक मसान्तको अन्तिमको असार महिनामा आएर गाउँपालिकामा सञ्चालित विकास निर्माणको योजनाहरु उपभोक्ता समितिमार्फत काम भइरहेको बताइएपनि ठेकेदारले काम गरिरहेको छ । कागजी पक्रिया मिलाउन मात्र उपभोक्ता समिति गठन गर्ने गरिएको छ ।

गाउँपालिकाबाट भइरहेको ७० लाखको बजेटबाट कालिकामाई मन्दिर निर्माण, गाउँ कार्यपालिकाको लागि खरिद भएको जग्गाको बाउन्डरी वाल निर्माण, धर्मशालाको भवन निर्माणको योजनाहरुको उपभोक्ता समितिमार्फत् सञ्चालनमा छन् ।

तर, कालिकामाई मन्दिरको भवन निर्माण र गाउँपालिकाको जग्गाको बाउण्डरी वाल ठेकेदारले काम गराइरहेको स्थानीयहरुको भनाइ छ । उपभोक्ता समिति बनाएर कमिशन स्वरुप १० देखि २५ प्रतिशतसम्म कमिशन कट्टा गरि निर्माणको जिम्मा ठेकेदारलाई दिने गरेका छन् ।

यसैगरि गाउँपालिकाबाट वितरण भएको ग्यास सिलिन्डर खरिदमा पनि अनियमितता भएको छ । ग्यास सिलिन्ड खरिदको बारेमा पनि बुझ्न खोज्दा गाउँपालिका कार्यालयमा भेटिएका कर्मचारीहरु कसैले पनि बताउन मानेन् ।

४५ सय देखि ५ हजारसम्म पर्ने ग्यास सिलिन्डर र चुल्ला खरिद ६२ सयमा भएर ठूलो रकमको चलखेल भएको छ । यस्तै, आर्थिक बर्ष २०७७÷७८ को सुरु मै विपद व्यवस्थापनको रकमबाट जनप्रतिनिधिहरुले भत्ताको नाममा एक÷एक लाख रकम भागबण्डा लगाएका थिए ।

यस्तै, गाउँपालिकाको जनप्रतिनिधिलगायत प्रमुख प्रशासकीय अधिकृत एवं लेखा अधिकृत सदरमुकाम वीरगञ्जमै बसेर कागजातहरु मिलाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV