९ असार २०७८, बुधबार

काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो प्रमुख एसएसपी दिलिप चौधरीले आफूमाथि अन्याय भएको बताएका छन् । लागूऔषध नियन्त्रण व्यूरोले मिति २०७७ बैशाख १७ देखि २०७८ असार ९ गतेसम्म गरेका महत्वपूर्ण उपलब्धिहरु बुधबार सार्वजनिक गर्दै आफूलाई अन्याय भएको बताएका हुन् ।

उनले आफू एसपी हुँदा १ नम्बरमा भएपनि डीआईजी हुनबाट संगठन र राज्यले बञ्चित गराएको आरोप लगाए । चौधरीले आफ्नो बढुवा माथिल्लो निकायबाटै रोकिएको बताउदै २०७४ मा भएको निर्वानको कुरालाई लिएर विभेद गरेको आफुले जानकारी पाएको बताए ।

उनले निर्वाचनमा आफूले कसैलाई काखा र पाखा नगरेको जिकिर गर्दै नखाएको विष लागेको तर्क गरे । एसएसपी चौधरीले आफू लागूऔषध ब्यूरो प्रमुख भएदेखि गरेका कार्यहरुको वर्णन गरेका थिए ।

उनले विभिन्न मितिमा भएका सफल कार्यहरुलालाई पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । गत तीन वर्षको अनुपातमा लागूऔषध सम्बन्धी मुद्दामा कमी आएको उनले जानकारी दिए ।

उनले यो वर्ष ६५ वटा मुद्दा दर्ता भएको बताउदै पक्राउ पर्नेमा पुरुषको संख्या बढेको र महिलाको संख्या घटेको उल्लेख गरे । उनले गाँजा बरामदको संख्या घटेको भएपनि खैरो हिरोइनको संख्या बढेको बताए ।

उनले नेपाल भरी लागू औषध सम्बन्धी मुद्दा दर्ता संख्या ३० हजार ९ सय ७३ रहेको र लागू औषधको ब्यूरोले मात्रै दर्ता गरेको मुद्दा ३ सय ५० वटा रहेको जानकारी दिए । व्यूरो प्रमुख चौधरीले नेपाल प्रहरीको ५५ वर्षे उमेर हदका कारण बुधबार नै अबकास पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV