८ असार २०७८, मंगलवार

वीरगन्ज (पर्सा) । कोरोना महामारीले मुलुकमा जारी गरिएको निषेधाज्ञाको कारण वीरगन्जका होटलहरु धरासायी बन्दै गएको छ । गत वर्षको प्रथम चरणको कोरोना महामारीमै थलो परेको होटलहरु पुनः सुचारु हुन नपाउँदै पुनः दोश्रो चरणको कोरोनाको कारण लामाे समय निषेधाज्ञा जारी भएपछि वीरगंजका होटलहरु धरासायी बन्दै गएका हुन् । करिब २० अर्वको लगानीमा साना तथा ठूला गरी ७० वटा होटलहरु वीरगंजमा संचालित छन् । तर कोरोनाले गर्दा बन्दाबन्दीको मार खेप्दै आएका होटल व्यावसायीहरु अहिलेसम्म होटल संचालनमा नआउँदा विस्थापित हुने अवस्थामा पुगेका छन् ।

वीरगन्ज आफै पर्यटकीय क्षेत्र नभई व्यापारिक क्षेत्र भएको कारण यहाँ आउने अधिकांश पर्यटकहरु भारतीय हुने गरेको थिए । अहिले लकडाउनको कारण नेपाल-भारत सीमा क्षेत्र बन्द रहेकोले उनीहरु पनि आउन नसकेपछि वीरगन्जका अधिकांश होटलहरु बन्द भएका हुन् । अर्वौंको लगानीमा संचालित होटलहरु विगत लामो समयदेखि बन्द रहेकोले लगानी पनि डुब्ने सम्भावना बढ्दै गएको भन्दै व्यवसायीहरु चिन्तित छन् ।

बढ्दो आधुनिकीकरणसँगै पुराना होटलहरुले विभिन्न बैंकहरुबाट कर्जा लिएर होटललाई आधुनिक होटल बनाएका थिए, तर ती होटलहरु गत वर्षदेखि नै बन्द रहेको कारण कर्मचारीहरुलाई समेत तलब दिन धौ-धौ परेको उनीहरुको भनाई छ ।

बैंकहरुले पनि कर्जाको व्याजमाथि व्याज थप्ने तर व्यापार ठप्प हुनेजस्ता समस्याले होटल व्यावसायीहरु दाेहाेराे मर्कामा पारेका छन् । नेपाल सरकारले बजेट भाषणको क्रममा होटल व्यावसायीहरुका लागि पनि उचित प्याकेजको व्यवस्था नगरेको र होटल संचालनको पनि कुनै ठोस कदम नल्याएकोले अर्वौंको लगानीमा संचालित होटलहरु अहिले धरासायी बन्दै गएको व्यवसायीहरू बताउँछन् । गत वर्षको कोरोना महामारीमा होटलहरुलाई क्वारेन्टाइन बनाई संचालन गरिए पनि यस वर्ष सम्पूर्ण नागरिकहरु आफ्नो घरमै आइसाेलेट भएर बसेको कारण पनि होटलहरु संचालन हुन सकेका छैनन् ।

प्रदेश २ को आर्थिक राजधानीको रुपमा चिनिने वीरगंजका होटलहरुमा नेपाल भारत सीमासँग जोडिएको भारतीय मुलका पाहुनाहरु मात्रै आउने गरेको र अहिले अस्थायी राजधानी जकपुर भएसँगै यहाँ ती पर्यटकहरु पनि आउनमा कमी भएको र अर्कोतर्फ लकडाउनको कारण पर्यटकहरु नआएकोले यहाँका होटलहरु सुनसान बनेका हुन् ।

दिन प्रतिदिन वीरगन्जमा होटलको संख्या थपिँदै छ, ठूलठूला होटलहरु संचालनमा आइरहेका छन् । तर नेपाल-भारत सीमा बन्दको कारण पर्यटकहरुको आगमनमा कमी भएसँगै होटल व्यवसायीहरु चिन्तित बनेका हुन् ।

यस क्षेत्रमा पर्यटकीय सम्भावना बोकेको बारा जिल्लाको विश्वप्रसिद्ध गढीमाई, पर्सा राष्ट्रिय निकुञ्ज, सिम्रौनगढ लगायतका पर्यटकीय स्थलहरु भए पनि गत वर्षदेखि नै कोरोनाको कारण पर्यटकहरु नआउँदा होटल संचालनमा समस्या भएको उनीहरुको भनाई छ । अहिले होटलका स्टाफहरुको तलब दिन पनि धौ धौ परेको छ, कर्मचारीहरु कटौती गरिएको छ, यसबाट रोजगारी पनि गुमेको अवस्था छ, त्यसैले कोरोना न्यूनीकरणको विकल्प लकडाउन मात्रै नभएको होटल व्यावसायीहरुको भनाई छ ।

सरकारले चाँडो भन्दा चाँडो सम्पूर्ण नागरिकहरुलाई खोपको व्यवस्था गर्नुपर्ने, लकडाउनले मात्रै महामारी जस्तो समस्याको समाधान नहुने भन्दै उनीहरु निषेधाज्ञाले आर्थिक क्षेत्रलाई धरासायी बनाउने बाहेक अन्य केही नगर्ने बताउँछन् । सरकारले राजस्व संकलन गर्ने बेला निषेधाज्ञा खोल्ने र अन्य बेला बन्द राख्नेजस्ता प्रवृत्तिको कारण पनि मुलुकका नागरिकहरुको पनि आर्थिक अवस्था कमजोर हुँदै गएको कारण सरकारले निषेधाज्ञाको दीर्घकालीन खोज्दै यहाँ संचालित विभिन्न व्यापारहरु चलायमान बनाउनुपर्ने अवस्था रहेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV