७ असार २०७८, सोमबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षलाई दलको आधिकारीकतासम्बन्धी १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्वाचन आयोगले सूचना जारी गरेको छ ।

आइतबार आयोगले दलको आधिकारिकताका लागि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा २ बमोजिम निवेदन दावीका सम्बन्धमा लिखित जवाफ पेश गर्न ठाकुर पक्षलाई १५ दिनको सूचना दिएको हो ।

आयोगको सूचनामा भनिएको छ, ‘जनता समाजवादी पार्टी नेपालका तर्फबाट उक्त दलको केन्द्रीय कार्यकारिणी समितिको निर्णय र आवश्यक कागजातसहित राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ को खण्ड (ग) बमोजिम दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विववाद निरुपण गरिपाउँ भन्नेसमेत व्यहोराको निवेदन २०७८/३/४ मा दर्ता हुन आएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा २ बमोजिम निवेदन दावीका सम्बन्धमा लिखित जवाफ पेश गर्नका लागि यस्तो दावी तथा प्रमाणको प्रतिलिपी संलग्न गरी जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनको सूचना दिने र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्ने ।’

हाल ठाकुर पक्ष ओली सरकारमा सहभागी रहेको छ भने जसपाको उपेन्द्र यादव पक्ष बाहिर रहेको छ । यसअघि नै यादव र ठाकुर पक्षले एक अर्का पक्षका नेतालाई कारबाही गरेका छन् ।

दुवै पक्षले कारबाही गरेपछि आधिकारीक रुपमा जसपा दल आफ्नो भनि निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, आयोगले दुबै पक्षको दावी नपुग्ने भनी अस्वीकार गरेको थियो ।

साथै, आयोगले यो विवाद दलको आधिकारिकतासम्बन्धी भएको भन्दै राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार निरुपणका लागि आउन आग्रह गरेको थियो ।

यसका साथै उपेन्द्र यादव पक्षले असार ४ गते केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित दलको आधिकारिकता दावी गर्दै निवेदन दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV