७ असार २०७८, सोमबार

विषय प्रवेश
विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड – १९) को दोस्रो लहरले आज विश्व जगत् नै आक्रान्त बनेको देखिन्छ । यसले गर्दा मानव जातिको जीवन नै जोखिममा परेको छ । कोभिडको कारणले धेरै मानिसहरुले अकालमै ज्यान गुमाउनु परेको छ । विश्वका शक्तिशाली राष्ट्र पनि यसबाट नराम्ररी प्रभावित भएका देखिन्छन् । यसमा वैज्ञानिकहरुको अध्ययन अनुसन्धानले पनि सफलता प्राप्त गर्न सकेको देखिदैन ।

कोराना भाइरसको दोस्रो भेरियन्टबाट विश्व लगायत हाम्रो देश नेपाल पनि अछुतो रहन सकेको छैन । यसको संक्रमण दर उच्च रहेको पाइन्छ । नेपालमा आज विकासका पूर्वाधार देखि शिक्षा स्वास्थ्य जस्ता विषयहरु नराम्ररी प्रभावित भएका देखिन्छन् । कोभिड – १९ को सुरुवात देखि नै शैक्षिक जगत्का कार्यक्रमहरु प्रभावकारी रुपले सञ्चालनमा आउन सकेनन् ।

विद्यालय तह देखि विश्वविद्यालय तहसम्मका शैक्षिक गतिविधिहरुले मूर्त रुप लिन सकेनन् । यस अवस्थामा विद्यार्थीको पढाइ कार्य अन्योलग्रस्त रुपमा रहेको पाइन्छ । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ कार्यलाई निरन्तरता दिन कार्यविधि निर्माण गरेतापनि विभिन्न साधन स्रोतको अभावमा त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको देखिदैन । चालु शैक्षिक सत्रको मध्यतिर कोरोना भाइरसको पहिलो भेरियन्ट कम हुँदै गएपश्चात विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठनका कार्य सुरु भएका पाइन्छन् ।
नेपाल सरकारले पनि चालु शैक्षिक सत्रलाई वि.स. २०७८ असार सम्म लम्ब्याउने निर्णय गरेको पाइन्छ । यस बिचमा पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम समायोजन ढाँचा २०७७ का आधारमा शिक्षण कार्य गर्न मार्गदर्शन गरे तापनि फेरी परिपत्र मार्फत पाठ्यक्रमका सम्पूर्ण विषयवस्तु समेटेर मूूल्याङ्कन कार्य गर्न निर्देश गरेको पाइन्छ । तसर्थ यस शैक्षिक सत्रको विद्यार्थी मूल्याङ्कन कार्य के कसरी गर्ने भन्ने पक्षमा सरोकारवाल पक्षहरु दोधारमा रहेका देखिन्छन् ।

शैक्षिक मूल्याङ्कन
शिक्षण शिकाइ र विद्यार्थीको उपलब्धि पत्ता लगाउने एक अनिवार्य सर्तका रुपमा मूल्याङ्कन लाई लिइन्छ । सामान्यतया यसलाई लेखाजोखा पनि भनिन्छ । मूल्याङ्कन शिक्षण सिकाइको अभिन्न अङ्गका रुपमा रहेको पाइन्छ । शिक्षण सिकाइ र मूल्याङ्कनलाई अलग अलग छुट्याएर हेर्नु पनि त्यति प्रभावकारी मानिदैन । मूल्याङ्कन शिक्षण सिकाइ पूर्व, शिक्षण सिकाइको क्रममा र शिक्षण सिकाइ पश्चात गरिन्छ । यो निरन्तर चलिरहने प्रक्रिया हो । विद्यार्थीले सिकेका वा प्राप्त गरेका उपलब्धिको लेखाजोखा मूल्याङ्कनले गर्दछ ।

विद्यार्थीले के सिक्यो र के सिक्न सकेन भन्ने पक्षको खोजी तथा अध्ययन मूल्याङ्कनले गर्दछ । विद्यार्थीलाई सिकाइप्रति उत्प्रेरित गर्ने र सिकाइका कठिनाइ पहिचान गरी समाधानका उपायको खोजी मूल्याङ्कन बाट गरिन्छ । विद्यार्थीको मूल्याङ्कनको क्रममा लिखित, मौखिक परीक्षा, कक्षाकार्य, गृहकार्य, व्यवहार अध्ययन, परियोजना कार्य, पोर्टफोलियो, कक्षा सहभागिता जस्ता साधनको प्रयोग गर्न सकिन्छ । एउटा मात्र मूल्याङ्कनको साधनले विद्यार्थीका सबै क्षमताको मापन गर्न सकिदैन । तसर्थ विभिन्न परीक्षणीय साधनको प्रयोग गर्नुपर्ने हुन्छ ।

विगतमा परीक्षालाई नै मूल्याङ्कनको साधन मानिन्थ्यो । यसले विद्यार्थीका सबै क्षमताको मापन गर्न सग्दैनथ्यो । विद्यार्थीले सिकेको भन्दा पनि ल्याएको अङ्कलाई नै मूल्याङ्कनका रुपमा लिने गरिन्थ्यो । यसबाट विद्यार्थीको वास्तविक व्यवहारको मापन गर्न सकिदैन । तसर्थ लिखित परीक्षालाई मात्र मूल्याङ्कनको प्रभावकारी साधन मान्ने परिपाटीको विकल्प खोज्नु आवश्यक देखिन्छ । वर्तमान समयमा कोभिड – १९ ले सिर्जना गरेको परिस्थिलाई मध्यनजर गर्दा परीक्षा मार्फत विद्यार्थीको मूल्याङ्कन गर्ने अवस्था देखिदैन । यसक्रममा हाम्रो देशमा करिब २२ वर्ष अगाडि देखि परीक्षणमा आएको निरन्तर मूल्याङ्कन प्रणालीलाई प्रयोगमा ल्याउनु पर्ने देखिन्छ । यो विद्यार्थीको सर्वाङ्गीण पक्षको लेखाजोखा गर्न रामवाण सरह हुने देखिन्छ । यसको मुख्य उद्देश्य पठनपाठन संगै विद्यार्थीको सिकाइको स्तर पत्ता लगाइ न्यून सिकाइ उपलब्धि भएका विद्यार्थीलाई थप सिक्ने अवसर प्रदान गर्नु पनि हो । यसले विद्यार्थीलाई व्यक्तिगत रुपमा सिक्न प्रोत्साहन गर्ने, विद्यार्थीको सिकाइ स्तरमा सुधार ल्याउने, सिक्ने अवसर प्रदान गर्ने हुनाले यसलाई सिकाइका लागि मूल्याङ्कन पनि भन्ने गरिन्छ ।

हाम्रो मुलुकमा अझैसम्म पनि परीक्षालाई नै सर्वेसर्वा मान्ने प्रचलन कायमै रहेको छ । शिक्षा क्षेत्रका सरोकारवाला पक्षहरु (विद्यार्थी , अभिभावक, शिक्षक, शिक्षाविद्, योजनाकार आदि) ले परीक्षा नभएसम्म शिक्षण सिकाइ भएको मान्ने गरेको पाइदैन । त्यसैले कोभिडको यो चरम अवस्थामा पनि परीक्षा सम्बन्धि निर्णय गर्नको लागि मन्त्री स्तरीय बैठक बस्ने गरेका देखिन्छन् । हामीले विगत करिब २२ वर्ष अगाडि (२०५६) देखि निरन्तर मूल्याङ्कन प्रणालीको परीक्षण इलाम, चितवन, स्याङ्जा, सुर्खेत र कञ्चनपुर लगायतका ५ जिल्लामा गरी कार्यान्वयनमा ल्याएको कुरा प्रति कसैको ध्यान गएन । परीक्षालाई नै मूल्याङ्कनको उत्तम साधनको रुपमा मानियो र मानिन्छ पनि । हाम्रो देशमा बेलाबेलामा उच्च पदमा आसिन व्यक्तिहरुबाट नै गुणस्तरीय शिक्षाको अवाज सुनिने गरिन्छ ।

गुणस्तरीय शिक्षा केलाई मान्ने यसको बारेमा बहस कहिल्यै भएन । परीक्षामा रामा्रे अङ्क ल्याएर पास हुने विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गरेको हाम्रो बुझाइ छ । तसर्थ हाम्रोमा परीक्षासंग शिक्षाको गुणस्तरको मापन गरिन्छ । के यसरी हाम्रो देशको शिक्षाको गुणस्तर विकास हन्छ ? यो हाम्रो मुलुकको तितो यथार्थ हो । कुनै विद्यार्थीले पढ्न जानेको छैन, शुद्धसंग लेख्न जानेको छैन तर परीक्षामा उसले धेरै अङ्क ल्यायो भने हामीले त्यसलाई गुणस्तरीय शिक्षा प्राप्त गरेको मान्ने प्रचलन छ । हामीले विद्यार्थीको वास्तविक व्यवहारको अध्ययन गरी उसलाई सिक्ने अवसर प्रदान कहिल्यै गरेनौ र उसको सिकाइ समस्याको पहिचान पनि कहिल्यै गरेनौं । यसरी परीक्षामुखी औपचारिक मूल्याङ्कन प्रणालीका आधारमा शिक्षाको गुणस्तर पनि माथि उठ्न सकेको देखिदैन र विद्यार्थीले सिक्नुपर्ने कुराहरु पनि सिकेको पाइदैन । त्यसैले यि विभिन्न समस्याको समाधान गर्न र शिक्षाको गुणस्तर माथि उकास्न निरन्तर मूल्याङ्कन प्रणालीलाई अवलम्बन गर्नुपर्ने देखिन्छ ।

नेपालको नीति निर्माण तह देखि कार्यान्वयन तहसम्म बुझ्दा बुझ्दै पनि परीक्षामुखी कार्यलाई निरन्तरता दिएको पाइन्छ । यसको विकल्पको बारेमा समय समयमा कुरा उठ्छ, नीति निर्माण पनि गरिन्छ तर कार्यान्वयन पक्षतिर नीति निर्माता निकाय नै उदासिन देखिन्छन् । त्यसैले आजको दिनसम्म निरन्तर मूल्याङ्कन प्रणालीले सार्थकता लिन सकेको देखिदैन । निरन्तर मूल्याङ्कनले सिकाइकै क्रममा वा विद्यार्थीका हरेक क्रियाकलापको निरन्तर अध्ययनमा जोड दिन्छ । यसले अन्तिम परीक्षालाई स्वीकार गर्दैन । किनकि त्यो परीक्षाले विद्यार्थीको सर्वाङ्गीण पक्षको मापन गर्न सग्दैन । निरन्तर मूल्याङ्कन प्रणाली आफैंमा विद्यार्थीमैत्री हुने गर्दछ । तसर्थ यसको प्रभावकारी प्रयोग गरी विद्यार्थीका शिक्षण सिकाइासंग विविध समस्याको समाधान गरी शिक्षण र मूल्याङ्कन कार्यलाई एकसाथ अगाडि बढाउनु पर्दछ ।

वि.स. २०५६ सालमा इलाम, चितवन, स्याङ्जा, सुर्खेत र कञ्चनपुर लगायतका पाँचवटा जिल्लामा निरन्तर मूल्याङ्कन प्रणालीको परीक्षण गरी वि.स. २०६३ देखि नेपालभर क्रमशः कक्षा १ देखि वि.स. २०६७ सम्म कक्षा ५ मा प्र्रयोग गरिएको पाइन्छ । त्यसैगरी आधारभूत तह कक्षा ६ र ७ मा शैक्षिक सत्र २०७० र २०७१ मा लागु गरेको पाइन्छ । यसरी विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले निरन्तर मूल्याङ्कनलाई जोड दिएको छ । यसले तहगत रुपमा नै निरन्तर मूल्याङ्कन कार्यलाई समेटेको देखिन्छ ।

विश्लेषण
शिक्षाले मानिसको चेतनाको विकास गराउने गर्दछ । यसलाई अङ्ग्रेजीमा education भनिन्छ । यो edi र catumमिलेर बनेको पाइन्छ । यसमा edu को अर्थ आन्तरिक र catum अर्थ बाहिर निकाल्नु हुन्छ । यसरी विद्यार्थीको आन्तरिक क्षमता के कसरी विकास भयो र भइरहेको छ भन्ने पक्षको मापन परीक्षाले मात्र गर्न सग्दैन । तसर्थ विद्यार्थीको आन्तरिक क्षमताको सही मापन निरन्तर मूल्याङ्कन बाट मात्र गर्न सकिन्छ ।

त्यसैगरी संस्कृतको शिक्ष् धातुबाट शिक्षा शब्दको निर्माण भएको पाइन्छ । यसअनुसार शिक्षाको अर्थ अनुभवी अग्रजहरुले आफ्ना सन्ततिहरु लाई अनुभव प्रदान गर्नु भन्ने बुझिन्छ । हाम्रो मूल्याङ्कन प्रणालीले यी हस्तान्तरित अनुभवको मापन कहिल्यै गर्न सकेन । परीक्षाले यस्ता अनुभवको मापन गर्दैन र गर्न पनि सग्दैन । तसर्थ यसका लागि पनि निरन्तर मूल्याङ्कनको आवश्यकता पर्ने देखिन्छ ।

यसरी शिक्षाका विभिन्न प्रकार रहेका हुन्छन्, औपचारिक, अनौपचारिक र अयिमित । विद्यालयको चारभित्ता भित्र दिइने शिक्षालाई औपचारिक शिक्षा भन्ने गरेको पाइन्छ । यसलाई शिक्षाको सङ्कुचित अर्थ पनि भन्ने गरिन्छ । त्यसैगरी मानिसको जन्म देखि मृत्यु पर्यन्त प्राप्त गरिने सम्पूर्ण अनुभवलाई शिक्षा भनेको पाइन्छ । यसलाई शिक्षाको व्यापक अर्थ अन्तर्गत लिइन्छ । हामीले अभ्यासमा ल्याएको मूल्याङ्कन प्रणाली वा परीक्षाले व्यक्तिको जीवन देखि मृत्युसम्मका अनुभवहरुको मापन गर्न सग्दैन । त्यसैले परीक्षा विद्यार्थीको मूल्याङ्कन गर्ने पर्याप्त साधन होइन र यसलाई मान्नु पनि हुँदैन । समय सान्दर्भिक रुपमा हामीले मूल्याङ्कनका नवीन मान्यताको प्रयोग गर्नुपर्छ ।

त्यसैगरी शंक्राचार्यले आत्मानुभूति नै शिक्षा हो भनेका छन् । परीक्षाले व्यक्तिका आत्मानुभूतिको मापन गर्न सग्दैन । यो आत्मानुभूति मापन गर्ने साधन पनि होइन । त्यसैले हामीले प्रयोगमा ल्याएको मूल्याङ्कनको साधन सान्दर्भिक देखिदैन । तसर्थ आत्मानुभूति जस्ता पक्षको लेखाजोखा निरन्तर मूल्याङ्कन प्रणालीबाट मात्र गर्न सकिन्छ ।

भागवत गितामा पृथ्वीमा ज्ञान भन्दा शुद्ध अरु केही छैन भनिएको पाइन्छ । यसरी व्यक्तिले प्राप्त गरेको ज्ञान केही समयमा केही प्रश्न दिएर उत्तर लेख्न लगाएर मापन गर्न सकिदैन । यसको लागि ज्ञान ग्रहण गर्दै गर्दा निरन्तर रुपमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ । अनि पृथ्वीमा ज्ञान भन्दा शुद्ध अरु केही नभएको विषयको मूल्याङकन केही समयमा लिखित परीक्षामार्फत कुनै हालतमा पनि गर्न सकिदैन ।

समस्याहरु
शैक्षिक मूल्याङ्कनका समस्याहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
– पुरानो परीक्षा प्रणालीलाई प्रतिस्थापन गर्न नसक्नु
–  शिक्षकलाई तालिम प्रदान गर्न नसक्नु
– आवश्यक स्रोत साधनको अभाव
– शिक्षक विद्यार्थीको अनुपात नमिल्नु
– नियमित अनुगमन तथा सुपरीवेक्षणको अभाव
– ऐन नियम निर्माण नगरिनु
– परीक्षामुखी शिक्षण कार्य
– विद्यार्थीको सिकाइ भन्दा पनि प्राप्त अङ्कमा जोड
– शिक्षकमा अध्ययन अनुसन्धान गर्ने बानिको अभाव
– विद्यार्थी कार्यसञ्चयिका तयार नहुनु
– विद्यालय प्रशासन र वि.व्य.स. गैरजिम्मेवार हुनु
– निरन्तर विद्यार्थी मूल्याङ्कनको प्रयोग नगर्नु आदि ।

समाधानका उपायहरु
शैक्षिक मूल्याङ्कनका समस्या समाधानका उपायहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
– प्राचीन परीक्षा प्रणालीको विकल्प खोजी गर्ने
– शिक्षक तालिमलाई निरन्तरता दिने
– आवश्यक स्रोत साधनको व्यवस्था गर्ने
– नीति नियमको निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने
– विद्यार्थीको वास्तविक व्यवहारको मापन तथा अध्ययन गर्ने
– विद्यार्थीको पोर्टफोलियो निर्माण गर्ने
– परियोजनात्मक कार्यलाई प्राथमिकता दिने
– अनुगमन तथा सुपरीवेक्षणको कार्यलाई नियमित गर्ने
– स्थानीय सरकारलाई जिम्मेवार बनाउने
– वि.व्य.स. र विद्यालय प्रशासनको भूमिका बढाउने
– मूल्याङ्कन कार्यलाई विद्यार्थीमैत्री बनाउने
– सरोकारवाला पक्षसंग सहकार्य र समन्वय गर्ने आदि ।

निष्कर्ष
चालु शैक्षिक सत्रको प्रारम्भ देखि अन्त्यसम्म कोभिड – १९ को प्रभाव उच्च नै रहेको पाइन्छ । यसको कारण शिक्षा क्षेत्रका विभिन्न कार्यक्रमहरु अस्तव्यस्त रहेका छन् । विद्यालय तह देखि विश्वविद्यालय तहसम्मका परीक्षाहरु नियमित रुपमा हुन सकिरहेका छैनन् । कोरोना बाट उत्पन्न परिस्थितिको कारणले गर्दा विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा लिन सक्ने अवस्था रहेको पाइदैन । यस अवस्थालाई अवसरको रुपमा लिई निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीकलाई प्रयोगमा ल्याउन सके विद्यार्थीको वास्तविक व्यवहारको मापन हुने देखिन्छ । परीक्षा विद्यार्थी मूल्याङ्कनको परिपूर्ण साधन हैन, यसले विद्यार्थीका सबै पक्षको मापन गर्न सग्दैन । तसर्थ कक्षाकार्य, परियोजनात्मक कार्य, अतिरिक्त क्रियकलाप, उपस्थिति, पोर्टफोलियो लगायतका माध्यमबाट विद्यार्थीको मूल्याङ्कन गर्नु प्रभावकारी मानिन्छ ।

(खगेन्द्र सिंह धामी तादी गाउँपालिका, नुवाकोटमा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुखका रुपमा कार्यरत छन्)

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV