७ असार २०७८, सोमबार

भजनी । मौसममा परिवर्तन आएसँगै कैलालीको भजनी नगरपालिकाका किसान चैते धान काट्न व्यस्त भएका छन् । भित्र्याउने समयमा पानी पर्न थालेपछि किसानलाई धान काट्ने चटारो भएको हो । यहाँको खेतमा धान पाकेर पहेंलपुर छ । तर, पाकिसकेको धान अविरल वर्षाका कारण डुवानमा पर्ने डरले किसान चिन्तित हुन थालेका छन् ।

विगतमा वर्षात्को समयमा हुने डुवानकै समस्याका कारण यहाँका किसान चैते धान रोप्न थालेको हो । विगतमा वर्षाका कारण डुवान पर्दा धेरै किसानको भित्र्याउन ठिक्क पारेका धानबालीमा क्षति पुग्ने गरेको थियो । त्यसैले त्यस्तो नहोस् भनेर यहाँका किसान चैते धान खेतीतर्फ आकर्षित भएका हुन् । तर यो वर्ष मनसुन चाँडै नै शुरु हुँदा भित्र्याउन ठिक्क पारेका धानबाली डुवने हो कि भन्ने चिन्तामा यहाँका किसान देखिएका छन् । “वर्षासँगै डुवान पनि हुन सक्छ । मौसमको कुनै भर हुँदैन”, भजनी नगरपालिका—८ का तुलाराम काफ्लेले भन्नुभयो, “लगातारको वर्षाका कारण चैते धानबाली भित्र्याउन पाइँदैन कि भन्ने चिन्ता बढ्दै गएको छ ।”

केही दिनपछि धान भित्र्याउने सोचे बनाउनुभएका उहाँले विगत एक सातादेखि मौसम बदलिएर निरन्तर पानी परेपछि धान काट्ने काम प्रभावित भएको बताउनुभयो । कतिपय किसानले काटिसकेको धान पनि वर्षात्का कारण चुट्न पाएको छैन् । “अधिकांश किसानले धान भित्र्याउन पाएको छैन्”, स्थानीवासी जयप्रसाद ढुङ्गानाले भन्नुभयो, “मौसमले साथ नदिए धान भित्र्याउन किसानलाई निकै सास्ती खेप्नुपर्ने हुन्छ ।” वर्षात् बाढीको जोखिमसमेत बढाउँदै गएको छ । “गहिरो ठाउँमा त बाढीले छोइसकेको अवस्था छ”, उहाँले भन्नुभयो, “वर्षात्मा धान नरोप्ने किसानका लागि चैत धान राम्रो भएको थियो ।” उत्पादन धेरै हुने र डुवानबाट बच्न सकिने आसमा यहाँका धेरैभन्दा धेरै किसानले चैते धान लगाएका छन् ।

करिब दुई विगहा क्षेत्रफलमा चैते धान खेती गर्नुभएका भजनी नगरपालिका—८ सुनाफाँटाका राधा ढुङ्गानाले धान काट्ने अवस्था भएपनि मौसमका कारण भित्र्याउन नपाएको गुनासो गर्नुभयो । “पाकेर तयार भएको धान घरमा भित्र्याउन हतार थियो । तर लगातारको वर्षा कारण भित्र्याउन सकिएन”, उहाँले भन्नुभयो, “तयारी अवस्थामा रहेका धानबाली भित्र्याउनका लागि हामी काट्नमा व्यस्त थियौं । वर्षाका कारण खेतमा पानी जमेपछि त्यो कार्य रोक्नुपर्ने भयो ।”

त्यस्तै भजनी नगरपालिका—३ का चन्द्रबहादुर साउदले पनि लगाएको चैते धान भित्र्याउन पाउनुभएको छैन । आजभोली भित्र्याउने तयारीमा रहनुभएका साउदलाई पनि वर्षात्ले धान भित्र्याउनबाट रोकेको छ । “केही धान भित्र्याउन सफल भएका थियौं । बढीजसो खेतमै छ”, उहाँले भन्नुभयो, “भित्र्याएको धान सुकाउन नपाएर ढुसी पर्न थालिसक्यो भने खेतको धान पानीका कारण खेतमै कुहिन थालिसक्यो ।” यो वर्ष भजनीमा करिब ५०० विगहा क्षेत्रफलमा चैते धानको खेती भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV