६ असार २०७८, आईतवार
  • हरिशंकर शर्मा,

वीरगंज (पर्सा) । पर्साको कालिकामाई गाउँपालिकाको विभिन्न टोलहरुमा सडक हिलाम्मे भएको कारण स्थानीयले सास्ती खेप्नु परेको छ । गाउँपालिकालगायत वडामा निर्वाचित जनप्रतिधिहरु फोहरी राजनीतिमा लागेको कारण स्थानीयहरुले सास्ती भोग्नु परेको हो ।

जनप्रतिनिधिहरु विकास निर्माणको कार्यलाई लत्याएर कसरी बढी भन्दा बढी असुली गर्न सकिन्छ भन्नेतर्फ उन्मुख भएका कारण स्थानीयहरुले वर्षा याममा सास्ती खेप्नु परेको स्थानीयहरुको आरोप छ ।

गाउँपालिकाको वडा नं. ५ मा पर्ने बलुवा गाउँमा सडक जीर्ण भई घुँडासम्म पानी जमेर सडक हिलाम्मे भएको कारण स्थानीयहरुलाई आवतजावत गर्नमा समस्या भएको स्थानीय आनन्द कुमारले गुनासो पोखे । बलुवास्थित शम्भू पासवानको घरदेखि महिन्द्र पासवानको घरसम्म र शम्भू पासवानको घरदेखि साहेब पासवानको घरसम्मको बाटो हिँड्नै नसक्ने अवस्था छ ।

सवारी साधनको कुरै छाडौँ पैदल हिँड्न समेत समस्या रहेको आनन्द कुमारको भनाइ छ । विगत तीन महिना भन्दा अगाडिदेखि नै सडक विग्रेको र वडाध्यक्षलाई पटक–पटक सडक मर्मतको लागि आग्रह गर्दा पनि ध्यान नपु¥याएको स्थानीयहरुको आरोप छ ।

वडाध्यक्ष अहिले जनताको सेवा भन्दा पनि प्रचार बाजीमा लागेको कारण जनताहरुले सास्ती खेप्नु परेको उनीहरुको भनाइ छ । वडा नं. ५ मा पर्ने बलुवा टोलमा बढी दलित समुदायको बसोबास भएका कारण जनप्रतिनिधिहरुको ध्यान पुग्न नसकेको उनीहरुको भनाइ छ ।

दलित समुदायका व्यक्तिहरु खासै शिक्षित नभएको भन्ने घृणित मनसायको कारण जनप्रतिनिधिहरु त्यहाँ विकास गर्नुभन्दा पनि भोट मात्रै असुल्ने बैंक बुझेको कारण पनि त्यहाँ विकास हुन नसकेको स्थानीयहरुको आरोप छ ।

यस्तै, कालिकामाई गाउँपालिकाको वडा नं. २ को विभिन्न ठाउँमा बाटो हिलाम्मे भएको छ । भेडिहारीको उत्तर टोल, दक्षिण टोल र सानो गदियानीमा समेत बाटोमा खाल्डाखुल्डी भएर वर्षाको पानी जमेको कारण हिलाम्मे भएको छ ।

आर्थिक मसान्तको अन्तिममा आएर मनसुन सक्रिय भएको बेला नालाको निर्माणको कार्य थालनी गरेपछि पानीको निकाश हुन नसकेको कारण बाटोमै पानी जमेर हिलाम्मे भएको हो ।

खोला सफार्ईमा ४० लाख खर्च!

विकास निर्माणको कार्यलाई छाडेर बढी कमिशन आउने खोला सफाईमा पालिकाले यस आर्थिक वर्षमा ४० लाख बजेट खर्चेको छ । जीर्ण बाटो मर्मत गर्न नसकेको पालिकाले खोला सफाईमा मात्रै ४० लाख बजेट खर्च गरेको छ । आर्थिक बर्ष २०७७÷७८ को योजना अन्तर्गत उपभोक्ता समितिमार्फत भएको खोला सफाईमा ४० लाख खर्च भएको गाउँपालिकाको योजना शाखा प्रमुख सुनिल कुमार रौनियारले बताए ।

मोटो रकम कमाउनको लागि बिना कामको नदी सफाई गाउँपालिकाले गराएको स्थानीयहरुको आरोप छ । जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले बढी कमिशन आउने भएपछि सडक निर्माण भन्दा पनि नदीको सफाई गराएको स्थानियहरुको आरोप छ ।

गाउँपालिको कुनै किसिमको विकास निर्माणको काम गर्दा पारदशी तरिकाले नगरेको पनि पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV