६ असार २०७८, आईतवार

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले प्राकृतिक विपदपछिको उद्दार र राहत कार्यमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

आइतबार सिंहदरबारमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग छलफल गर्दै मन्त्री अधिकारीले प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरणका साथै छिटो भन्दा छिटो उद्दार र राहत कार्यमा बिशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

मन्त्री अधिकारीले मुलुकको समग्र शान्ति सुरक्षा र कोरोना संक्रमण रोकथाम र उपचारको व्यवस्थापनमा सातै प्रदेशसंग समन्वय गरेर अघि बढ्ने पनि बताएका गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।

बैठकमा मन्त्रालयले शान्ति सुरक्षा र बिपत व्यवस्थापन कार्यायोजनाका बिषयमा प्रस्तुतिकरण गरेको थियो । बैठकमा सातै प्रदेशबाट आएको सुझावलाई ग्रहण गर्दै संयुक्त रुपमा कार्यान्वयनमा लैजाने सहमति भएको प्रवक्ता दाहालले बताए ।

त्यस्तै बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुले प्रहरी समायोजन र संघीय प्रहरी ऐनलाई जतिसक्दो छिटो अघि बढाउन पनि मन्त्री अधिकारीलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV