६ असार २०७८, आईतवार

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पूर्व राज्यमन्त्री तथा पार्टीका नेता एवं संविधानसभा सदस्य तप्तबहादुर विष्टको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको शनिबार राति निधन भएको हो ।

कांग्रेस राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाले आज शोक विज्ञप्तिमार्फत नेता विष्टको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट प्रकट गर्नु भएको छ ।

विसं २०२० मा अछाममा जन्मिएका नेता विष्टले नेपालमा भएको हरेक लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो । आन्दोलनका क्रममा उनी पटक–पटक गिरफ्तार समेत हुनुभएको काँग्रेसले जनाएको छ । कांग्रेसका विभिन्न तहमा रहेर पार्टीलाई अतुलनीय योगदान पुर्याउँदै आएका विष्ट लामो समयसम्म कांग्रेस सुर्खेत जिल्लाका सभापति रहनु भएको थियो।

नेता विष्ट २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसका तर्फबाट सुर्खेत निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित हुनु भएको थियो । उक्त कार्यकालमा उहाँले सूचना तथा सञ्चार राज्यमन्त्रीको पद जिम्मेवारीपूर्वक निर्वाह गर्नु भएको थियो ।

सरल र मिलनसार स्वभावका स्व।विष्ट इमान्दार एवं विकासप्रेमी नेताका रुपमा परिचित रहनु भएको थियो। उहाँको निधनले नेपाली काँग्रेसले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV