६ असार २०७८, आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २९ अनामनगरमा रहेको सार्वजनिक जग्गा हाम्रो टिम नामक सामाजिक संस्थाले जबरजस्ती कब्जा गर्न लागेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

एक वर्षदेखि लकडाउनको समस्यामा परेकालाई खाना खुवाउने काम गरिरहेको हाम्रो टिमलाई सामाजिक कामका लागि प्रयोग गर्न सो जग्गा दिइएको र अहिले छोड्न नमानेको स्थानीयहरुको आरोप छ । संस्थाले सार्वजनिक जग्गामा पार्क बनाउन समेत अवरोध गर्नुका साथै स्थानीयको घर घेराउ गर्ने जस्ता कार्य गर्न खोजेको उनीहरुले आरोप लगाएका छन् ।

स्थानीय क्लबले सञ्चालन गरिरहेको सो सार्वजनिक जग्गामा सार्वजनिक काम गर्न आफूहरुलाई आपत्ति नरहेको तर स्थानीयलाई धम्काउने र जग्गा कब्जा गर्ने कार्य आफूहरुलाई स्वीकार्य नभएको सामाजिक बिकास समाज अनामनगरका महासचिव रैका मगरले जानकारी दिए ।

यता हाम्रो टिम नेपालका अध्यक्ष बिमल पन्तले काठमाडौं महानगर र स्थानीयसँगको अनुमतिमा नै निर्माण गरिएको बताए । उनले पार्क बनाउनका लागि आफूहरुलाई हटाउन खोजेको भन्दै आपत्ती जनाए । उनले आफूहरुलाई हटाउनका लागि सुनियोजित योजना बनाएको आरोप लगाए ।

पन्तले आफूहरुले पार्क बनाउन ठाँउ छाड्ने र खाधान्न तथा लताकपडा राख्न ठाँउ दिनुपर्ने माग गरे ।

LIVE TV