५ असार २०७८, शनिबार
  • हरिशंकर शर्मा,

वीरगंज (पर्सा) । मुलुकभरका स्थानीय तह भ्रष्टाचारमा चुर्लुम्म डुबेको घटना कुनै नौलो होइन । अधिकांश स्थानीय तह जनताको सेवा गर्नुभन्दा पनि कसरी लुट्न सकिन्छ भन्नेतर्फ उन्मुख भएका पाइन्छन् ।

जताततै स्थानीय तहका जनप्रतिनिधिलगायत कर्मचारीहरुको मिलोमतोमा व्यापक भ्रष्टाचार हुने गरेका घटनाहरु सार्वजनिक भइरहन्छन् । यसै क्रममा पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाले पनि पालिका सञ्चालनको क्रममा गर्ने गरेको अनियमितता लुकाउन एवं गोरख धन्दालाई ढाकछोप गर्न दर्ता रजिष्टरमा दर्ता नम्बर खाली ठाउँ छडेर पछाडिको दर्ता नम्बरमा दर्ता गरेको पाइएको छ ।

गाउँपालिकामा हुने गरेको भ्रष्टाचार एवं गोरख धन्दालाई मिलाउनका लागि अगाडिको नम्बर दर्ता गर्न छाडेर पछाडिको नम्बरमा दर्ता गरेको तथ्य फेला परेको हो । गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भइरहेको गुनासो बढेपछि गाउँ कार्यपालिकाको कार्यालय हरिहरपुर विर्ता पुगेका सञ्चारकर्मीहरुलाई आर्थिक बर्ष २०७७/७८ मा सञ्चालनमा रहेको बिकास निर्माण सम्बन्धी कुनै कागजात नरहेको कर्मचारीहरुले बताए ।

कार्यालयमा रहेको दर्ता चलानी रजिष्टरमा खाली ठाउँ छोडेर दर्ता चलानी गरिएको फेला परेको हो । गाउँपालिकाको दर्ता रजिष्टरमा मिति २०७८ जेठ १ गतेसम्म दर्ता नं. ११२१ सम्म क्रमश दर्ता गरिएपनि दर्ता नं. ११२२ दर्ता नगरी खाली ठाउँ राखिएको छ ।

त्यसपछि मिति २०७८ जेठ ३ गते दर्ता नं. ११२३ भएको हाजिर गायब सम्बन्धी पत्र दर्ता गरिएको छ । त्यसपछि पुनः मिति २०७८ जेठ ३ गते नै दर्ता नं. ११२४ पेश्की माग सम्बन्धी पत्र दर्ता गरिएको छ ।

तर फेरी दर्ता नं. ११२५ र दर्ता ११२६ को ठाउँ खाली राखेर अर्को दर्ता गरिएको छ । मिति २०७८ असार ३ गते अन्तिम दर्ता नं. ११९२ सूचना माग सम्बन्धी पत्र दर्ता गरिएकोे छ । त्यसको बीचमा पनि केही दर्ता नं. को खाली ठाउँ राखिएकोले ब्यापक अनियमितता भएको पुष्टि हुन्छ ।

किन दर्ता रजिष्टरमा खाली ठाउँ राखेर दर्ता गरिएको हो ? भन्ने बारे प्रश्न गर्दा कार्यालयमा भेटिएको कर्मचारीले जवाफ दिन सकेनन् । यस सम्बन्धमा कार्यालयमा नभेटिएका प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहसँग बुझ्न ९८५५०११११८ नम्बरमा सम्पर्क गर्न खोज्दा फोन उठेन ।

आर्थिक मसान्तको अन्तिममा आएर अनियमितता र पुरानो मितिमा दर्ता गर्न प्रयोजनको लागि दर्ता रजिष्टरमा खाली ठाउँ राखेर दर्ता गर्ने गरिएको छ । यि त उदाहारणका पात्र मात्रै हुन्, यस्ता भ्रष्टाचार एवं गोरख धन्दा धेरै हुने गरेको स्थानीयहरुको भनाइ छ ।

गाउँपालिकामा सञ्चालित थुप्रै बिकास निर्माण र सामग्री खरिदको सूचना गाउँपालिका वेबसाइटमा पनि राखिएको छैन । उक्त सूचनाहरु गाउँपालिकाको कार्यालयमा पनि नरहेकोे सूचना अधिकारी अमित चौरसियाले बताए ।

गाउँपालिकामा बढ्दै गएको अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक–पटक उजुरी परेपनि छानविन हुन नसकेको स्थानीयहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV