४ असार २०७८, शुक्रबार

वीरगंज । मुलुकमा फस्ट्याएको असारे विकासको कारण सर्वसाधारणहरुले सधैं सास्ती खेप्नु परेको छ ।

बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नं. ८ बेलाहीदेखि बारागढी गाउँपालिकाको वडा नं. १ भवानीपुर टोल जोड्ने मुख्य सडकमा असारे विकासको नाममा माटो खसालेर अलपत्र छाडेको कारण सर्वासाधारणहरुले सास्ती खेप्नु परेको छ ।

गाउँपालिकाको ७० लाख बजेटमा स्थानीय कुशलेश्वर चौधरीको अध्यक्षतामा गठित उपभोक्ता समितिले निर्माण कार्यको जिम्मा लिएकोमा जेठ महिनादेखि काम शुरुवात गरेको कारण माटो पुरिएको सडक एक घण्टाको बर्षाले हिल्लामे हुँदा त्यस सडकमा आवागमन गर्ने यात्रुहरुले सास्ती भोग्नु परेको छ ।

सडक पुर्ने भन्दै चिप्लो माटो खसालेर छाडेको कारण सडकको सडकमा ठूलठूला खाल्डाखुल्डी भई घुँडासम्म हिलाम्मे भएको कारण पैदल यात्रीलाई समेत जान कठिनाई भएको त्यस क्षेत्रका स्थानीयहरुको भनाई छ ।

उनीहरुका अनुसार सडक निर्माण कार्य एकदम तिब्र रुपमा भइरहेको छ, तर समयमा सडक निर्माण कार्य नभएको कारण यात्रुहरुले सास्ती खेप्नु परेको छ । सडकमा पुरै घुँडासम्म खाल्टो छ, यस सडकबाट एउटा साइकल समेत जान सक्दैन भन्दै दुई पाँग्रे साइकल जान नसक्ने बाटोबाट अरु सवारीसाधन जाने कुरै भएन् ।

पैदल जाँदा सडकमै खुट्टा भासेर हिल्लामे हुने तथा साइकल मोटरसाइकल एवं कुनै किसिमको सवारी साधन जबरजस्ती लैजान खोजेपनि सडक छेउमा भासेर दुर्घटना हुन सक्ने प्रवल सम्भावना रहेको बताए ।

करिब ३ किलोमिटर सडकलाई माटो पुरेर, तटबन्ध निर्माण गरि ग्राइभेल गर्ने गाउँपालिका र उपभोक्ता समितिबीच सहमति भएको अवस्थामा उक्त सडकमा हालसम्म माटो पुर्ने बाहेक अन्य काम हुन सकेको छैन ।

असार मसान्तपछि बजेट फ्रिज हुने अवस्था छ, निर्माण कार्य सुस्त गतिमा छ, वर्षा याममा निर्माण्को काम गर्ने कुरै भएन भन्दै स्थानीयहरुले यही माटो पुर्ने र ग्राइभेल गर्नुपर्ने काम वर्षायाम भन्दा अगावै भइसकेको भए यस सडकबाट आगावमन गर्ने यात्रुहरु लाभान्वित हुने उनीको भनाई छ ।

यसबारे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कुशलेश्वर चौधरीले सडक निर्माणको क्रममा वर्षायाम शुरु भएको कारण सडक निर्माण कार्य अवरुद्ध भएको बताए । सडक निर्माणको काम धमाधम भइरहेको थियो तर एक सातायता मौसमले साथ नदिएको कारण समस्या उत्पन्न भएको भन्दै वर्षा सकिने वित्तिकै निर्माणको कार्य अगाडि बढाइने बताए ।

आर्थिक वर्ष २०७७\०७८ को असार मसान्त सकिन लाग्दा पनि हालसम्म तटबन्ध समेत निर्माण हुन सकेको छैन भने माटो पुर्ने काम मात्रै भएको छ । उक्त सडक हुँदै बारागढी गाउँपालिका र करैयामाई गाउँपालिकाकालाई जोड्ने मुख्य सडक हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV