३ असार २०७८, बिहीबार
  • राजेन्द्र अधिकारी,

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बाढी तथा पहिरोले क्षतिग्रस्त मनाङ जिल्लामा आज राहत सामग्री बोकेर पुगेका छन् । केही थान त्रिपाल, खाद्यान्न र औषधिसहित मुख्यमन्त्री आज मनाङ पुगेका हुन् ।

राहत वितरण गरेर आजै फर्किने कार्यक्रम रहे पनि खराब मौसमका कारण आज मुख्यमन्त्री पोखरेलसहित पुगेका मन्त्रीहरु राजिव गुरुङ उर्फ दीपक मनाङे र सांसद चिन्ता बहादुर घलेको टोली आज उतै बसेका छन् ।

प्रदेश सरकारको अनुरोधमा गृह मन्त्रालयबाट उद्धार र राहत वितरणका लागि आएको नेपाली सेनाको हेलिकोप्टरमा पुगेको टोली प्रभु एयरको हेलिकोप्टरमा पोखरा फर्किने कार्यक्रम रहेको थियो । सेनाको हेलिकोप्टर मनाङमा नै रहेर उद्धार कार्यमा जुट्ने सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

राहत र उद्धारका लागि पुगेको मुख्यमन्त्रीसहितको टोलीले जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेलाई राहत सामग्रीहरु हस्तान्तरण गरेका थिए । बाढी पीडितहरुसँग मुख्यमन्त्री पोखरेलले भेटघाट गर्दै प्रदेश सरकार जनताको उद्धार र राहत कार्यका लागि प्रतिवद्ध रहेको बताएका छन् ।

मनाङमा बाढी पीडितहरु केही नयाँ कारागार भवनमा, केही ओढार भन्ने ठाउँमा बसेका छन् । घरबाट खाली हात निस्किएका त्यहाँ गाउँलेहरुलाई खानेपानी र खाद्यान्नको समस्या देखिएको छ । कोरोना संक्रमणका बेलामा एकै ठाउँमा गाउँलेहरु बस्नु पर्दा अलि त्रसित पनि देखिएका छन् ।

त्यसैगरी मनाङको फु भन्ने ठाउँमा यार्सागुम्बा टिप्न गएका ७५ जना गाउँलेहरु यतिबेला लेकमा नै अलपत्र परेका छन् । हेलिकोप्टर जान पनि अफ्ठ्यारो ठाउँ भएकोले सेनाको टोली भोलि विहानैदेखि उद्धारका लागि खटिने भएको छ ।

मुख्यमन्त्री पोखरेलसहित पुगेको सेनाको हेलिकोप्टर २ घण्टासम्म चामेमा रोकिएको थियो । स्रोतका अनुसार राहत वितरणका लागि पुगेका मुख्यमन्त्री पोखरेललाई असहयोग गर्ने उद्देश्यले हेलिकोप्टर अन्यत्र जान नदिइएको उद्धारमा सहभागीले गुनासो गरेका छन् ।

सेनाको हेलिकोप्टरले त्यहाँका जनताहरुलाई उद्धार गर्ने र मुख्यमन्त्रीसहितको टोली प्रभु एयरको हेलिकोप्टरबाट फर्किने कार्यक्रम रहेको गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । प्रवक्ता खड्काका अनुसार यतिबेला राहत वितरण गर्न पुगेको मुख्यमन्त्रीसहितको टोली मनाङको बगरछापमा सुरक्षित अवस्थामा रहेका छन् ।

अविरल परेको बर्षाका कारण मनाङमा ठुलो क्षति पुगेको छ । मनाङको नासो गाउँपालिका वडा नं. ३ धारापानीमा मस्र्याङ्दी नदीमा आएको बाढी कारण थोचे ताचे जाने पुल, प्रभु बैंक, कैलाश बैंक, नासो गाउँपालिकाको कार्यालय भवन, यथलैया होटल, सिमा प्रहरी चौकी, धारापानीको भवन बगाएको छ ।

अहिलेसम्म पनि तालगाउँ पुरै डुबानमा छ । त्यहाँ आफ्नो घरमा गाउँलेहरु जान सक्ने अवस्था अझै छैन । जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार धारापानी क्षेत्रमा २ वटा झोलुंगे पुलसमेत बगाएको छ ।

बाढीका कारण ताल गाउँका करिब ५०÷६० घर डुबानमा परेका छन् भने सडक भत्किएर एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था पनि छैन । भौतिक क्षति ठूलो भएपनि मनाङमा तत्कालै उद्धार गरिएको हुँदा मानवीय क्षति हुन नपाएको प्रजिअ लामिछानेले जानकारी दिए ।

गाउँलेहरुलाई जिल्ला कारागारको नयाँ भवनमा सुरक्षित राखिएको छ । बाढीका कारण टेलिफोन सम्पर्क टुटेको छ भने पोलहरु ढल्दा मनाङ विद्युत विहिन अवस्थामा पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV