३ असार २०७८, बिहीबार

काठटमाडौं । बिपक्षी गठबन्धका शीर्ष नेताहरुले बाढी, पहिरो तथा डुबान प्रभावितहरुको उद्दार, उपचार तथा राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन माग गरेका छन् ।

विहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दूर्गा पौडेलले संयुक्त वक्तव्य जारी गरेर बाढी, पहिरो र डुवानबाट पीडितहरुलाई तत्काल आवास, खाद्यान्नलगायतका राहत प्रभावकारी बनाउन सरकारसँग माग गरेका हुन् ।

जारी वक्तव्यमा भनिएको छ, ‘बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्दार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन हामी नेपाल सरकारसँग माग गर्दछौं ।’

त्यस्तै उनीहरुले इमान्दारी, तदारुकता र पारदर्शी रुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह पनि गरेका छन् ।

साथै जारी वक्तव्यमा गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्दार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पु¥याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरुलाई समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV