३ असार २०७८, बिहीबार

काठमाडौं । मुकुन्द भट्टको आगामी फिल्म ‘एक्स ९’को लागि भिलेनको अफर बलिउड अभिनेता सुनिल शेट्टीलाई गरिएको छ । लप्पन छप्पन र लप्पन छप्पन–२ निर्देशन गरिसकेका मुकुन्द भट्टले करिब एक महिना अगाडि बलिउड अभिनेता सुनिल शेट्टीसँग ‘एक्स ९’को बारेमा कुराकानी गरेको जानकारी गराएका छन् ।

निर्देशक भट्टका अनुसार फिल्मलाई लिएर सुनिल शेट्टी सकारात्मक रहेका छन् । सम्भवतः चाँडै कागजी सम्झौता हुने र सुनिल शेट्टीले दिनको हिसाबले पारिश्रमिक लिने भएकाले एक सातामै उनको भूमिकाको सम्पूर्ण छायाङ्कन गरिने निर्देशक भट्टको भनाइ छ ।

त्यस्तै, यो फिल्ममा नायकको अफर अनमोल केसीलाई गरिएको छ । ‘एक्स ९’का लागि अनमोल तयार रहेको र अहिले वर्कआउट गरिरहेको निर्देशक भट्टले जानकारी दिए । अनमोलसँग निर्माण टिमको कागजी सम्झौता भने गर्न बाँकी रहेको उनले बताए ।

जानकारी अनुसार यो फिल्ममा अभिनेता सौगात मल्ल र पुष्प खड्काको पनि मुख्य भूमिका रहने बताइएको छ । फिल्मको कार्यकारी निर्माताको रुपमा सरोज रिजाल रहेका छन्, भने निर्मातामा यादव प्रसाद पाठक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV