३ असार २०७८, बिहीबार

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले १३ वटा अस्पतालमा स्वास्थ्य सुरक्षा सामग्री वितरण सुरु गरेको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाका रहेको १ संघीय अस्पताल, २ वटा प्रादेशिक र १० वटा जिल्ला अस्पताल गरी १३ वटा अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिष्ठानले जनाएको छ ।

कोरोना भाइरसको दोस्रो लहरको महामारी समुदायस्तरमा फैलिरहेको कारणले उत्पन्न असज परिस्थितिलाई मध्यनजर गर्दै राज्यलाई सहयोग पु-याउने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गर्न सुरु गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुर केसीले बताए ।

संघीय भेरी अस्पताल नेपालगंज, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरसँगै भीम अस्पताल भैरहवा, पृथ्वीचन्द्र अस्पताल नवलपरासी, कपिलवस्तु अस्पताल तौलिहवा, रामपुर अस्पताल, पाल्पा, गुल्मी अस्पताल तम्घासलाई सहयोग गर्न लागिएको हो ।

त्यस्तै अर्घाखाँची अस्पताल सन्धिखर्क, प्युठान अस्पताल बिजुवार, रोल्पा अस्पताल लिवाङ, रुकुम अस्पताल रुकुम पुर्व र बर्दिया अस्पताल गुलरियामा स्वास्थ्य सामग्री प्रदान गरिने प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिए ।

उक्त अस्पतालहरुमा अक्सिजन कन्सन्ट्रेटर १० लिटर ९० थान, अक्सिजन सिलिण्डर ११५ थान, मेडिकल टेन्ट ५ थान, वाईप्याप मेसिन ५ थान, आइसीयू बेड ५ थान, पीपीई सेट २ हजार २ सय थान, सेनिटाइजर १ हजार १ सय ५० लिटर, सर्जिकल माक्स १२ हजार थान, सर्जिकल ग्लोब्स २ हजार थान, फेससिल्ड ४ हजार थान गरि करिव २ करोड ७० लाख बराबरको सामग्री वितरण गरिने उनले बताए ।

त्यस्तै प्रतिष्ठानले रुपन्देहीका ३ वटा गाउँपालिकाद्वारा सञ्चालित आइसोलेशन सेन्टर कोभिड–१९ अस्थायी अस्पतालमा पनि सहयोग गर्ने प्रतिष्ठानले जनाएको छ । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठमार्फत लुम्बिनी प्रादेशिक अस्पतालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरी सामाग्री बितरण अभियानको सुरुवात गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री श्रेष्ठले पूर्व स्वास्थ्य मन्त्री दिपक बोहरा संरक्षक रहनुभएको संस्था प्रतिमान नीमा स्मृति प्रतिष्ठानले अभावबाट ग्रसित अस्पताललाई कोभिड महामारी न्यूनीकरणका लागि सहयोग गर्नु उदाहरणीय कार्य भएको बताए ।

प्रतिमान–नीमा स्मृति प्रतिष्ठान पूर्व स्वास्थ्य मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ नेता दिपक बोहराको पिता स्व प्रतिमान चन्द बोहरा र आमा स्व। नीमा बोहराको नाममा भैरहवामा स्थापित प्रतिष्ठान हो । प्रतिष्ठानले सन् २००३ देखि शिक्षा, स्वास्थ्य तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV