२ असार २०७८, बुधबार

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा बाढीका कारण एकदमै ठूलो पहिरो गएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले बताएका छन् । मेलम्चीमा बाढीसहित पहिरो गएको भोलिपल्ट बुधबार हेलिकप्टरमा चढेर उक्त ठाउँको निरीक्षण गर्न पुगेको उनले जोखिम अझैँ रहेको बताए ।

उनका अनुसार मेलम्चीखानेपानीको मुहानभन्दा झन्डै ३ किलोमिटर माथिबाट ठूलो बाढी र पहिरो आएको छ । त्यहाँ बाढी र पहिरो आएको ठाउँमा आफूँहरु निरीक्षणमा जान नसकेको पनि उनले बताएका छन् ।

उनले भने, ‘त्योभन्दा माथि हामी जान सकेनौँ । त्यहाँ पानी थुनिएर पहिरो खस्दै, फेरी थुनिँदै खस्दै गरेको अवस्था छ । एकैचोटी पहिरो खस्यो भने खोलालाई निकै ड्यामेज पार्छ । पहिरो खस्ने क्रम जारी छ ।’

जिल्लाका सिडिओ, आफूसहित नेपाली सेनासँग उनी हेलिकोप्टरमार्फत बाढीको निरिक्षण गर्न पुगेका थिए । बाढीपीडितहरुको उद्धारका लागि नेपाली सेनाहरु खटिरहेको उनले बताए ।

जोखिम घटिनसकेको बताउँदै सर्तकता अपनाउनुपर्ने र यदि त्यसो नगरिएमा ठूलो क्षति पुग्ने उनको भनाइ छ ।

मंगलबार राति मेलम्ची नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार डुबानमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV