
- राजन परियार,
सिन्धुली । विगत दुई दिनदेखिको अविरल बर्षासँगै सुनकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको शव फेला परेको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका-५ मुलकोटस्थित सुनकोशी किनारमा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी मनोज लामाका अनुसार अन्दाजी ३०÷३५ वर्षका पुरुषको शव सुनकोशी नदी किनारमा फेला परेको हो ।
सुनकोशीले बगाएर ल्याएको माछा टिप्न गएका स्थानीयले कोशी किनारमा नाङ्गै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त शव भेटिएको स्थानमा प्रहरी चौकी रातमाटाको टोली पुगेर अनुशन्धान थालेको प्रहरीले जनाएको छ ।
सुनकोशी किनारमा भेटिएको शव मंगलबार राति सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले बगाएर ल्याएको हुनसक्ने आशंका गरिएको डीएसपी लामाले बताए ।