२ असार २०७८, बुधबार
  • सन्तोष पौडेल,

खोटाङ । जिल्ला अस्पताल खोटाङमा एक्स-रे फाँटका कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि सेवाग्राहीहरु मारमा परेका छन् ।

केही दिन अघिमात्र एन्टिजेन परीक्षण गर्दा एक्स-रे फाँटका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल खोटाङको एक्स-रे फाँट बन्द भएसँगै सेवाग्राहीहरु मारमा परेका हुन् ।

एक्स–रे गर्नकै लागि महँगो शूल्क तिरेर गाडी रिजर्भ गरी काठमाडौं तथा विराटनगरसम्म पुग्नुपर्ने बाध्यता बनेपछि सेवाग्राहीहरु चरम मारमा परेका हुन् ।

जिल्लाको साकेला गाउँपालिका-२ रतन्छाकी ६२ बर्षीय सार्कीमाया राईलाई छाती र पेट दुख्ने समस्या भएपछि जिल्ला अस्पतालमा अन्य परीक्षण गर्दा केही पत्ता नलागेको कारण एक्स-रे गर्नकै लागि गाडी रिर्जभ गरी काठमाडौं लगिएको छ ।

कोभिडको लहर सुरु भएदेखि कोभिडका विरामी र अन्य विरामीलाई एक्स-रे सेवा दिने क्रममा पालै–पालो दुवैजना कर्मचारीमा कोरोना पुष्टि भएको छ । अहिले उनीहरु आइसोलेसनमा उपचाररत रहेका छन् ।

जनशक्तिको अभावका कारण केही समयका लागि एक्स-रे सेवा बन्द गरिएको र संक्रमित कर्मचरीहरुमा निको भएर आएपछि मात्र सेवा सूचारु हुने जिल्ला अस्पताल खोटाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV