२ असार २०७८, बुधबार
  • राजेन्द्र अधिकारी,

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नेपालीले विश्वासको मत लिनका लागि मंगलबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् ।

६० सदस्यीय प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको पद सर्वोच्च अदालतले खारेज गरेसँगै यतिबेला प्रदेशसभा सदस्यको संख्या ५९ रहेको छ । मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त गर्न ३० मत आवश्यक पर्नेछ ।

अहिले कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदसहित गरी सत्तापक्षसँग ३१ मत रहेको छ । चार दलको विपक्षी गठबन्धनले एमालेका पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारलाई अल्पमतमा पार्दै नयाँ सरकार गठन गरेको थियो ।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । ४ जना मन्त्रीहरुले सपथ लिइसके पनि उनीहरुको मन्त्रालयको अझै टुङ्गो लागेको छैन । गण्डकी प्रदेशमा ११ वटा मन्त्रालय रहेका छन् ।

शनिबार मुख्यमन्त्री नियुक्त भएका नेपालीले विश्वासको मत लिने प्रस्ताव मंगलबार दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । विश्वासको मत लिनुभन्दा दुई दिनअघि प्रदेशसभा सचिवालयलाई जानकारी गराउनु पर्ने कानूनी प्रावधान रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV