२ असार २०७८, बुधबार

भक्तपुर । प्रत्येक बर्ष जेष्ठ शुल्क षष्ठी तिथीको दिन नेवाः समुदायले मनाउँदै आएको सिथि नखाः पर्व वः, चतामरी, मासुका बिभिन्न परिकार पकाएर भोज खाँदै पिउने पानीको मुहान सफा गर्दै मनाउँदैछ ।

सिथि नखाःको दिनलाई नेवाः समुदायमा प्रत्येक बर्ष देवाली पुजाको अन्तिम दिनको रुपमा पनि लिईन्छ । आज कै दिन खानेपानीको मुहान सफा गर्ने परम्परागत चलन पनि चलिआएको छ । आजको दिनलाई नेवाः समुदायले धर्र्तीको जन्मजयन्तीको रुपमा मनाउने भएकोले धर्तीमा घाउचोत नगर्ने भनी खेत बारीमा काम नगर्ने चलन पनि छ ।

सिथि नखाः पर्वमा भक्तपुरको चोक तथा गल्लीहरुमा रहेको परम्परागत ऐतिहासिक पिउने पानीको स्रोत ईनार, कुवा, दुंगेधारा आदि स्थानहरुमा सरसफाई गर्ने चलन समेत रहेको छ । बर्षको एक पटक सिथि नखाःको दिनमा मात्र पिउने पानीको स्रोतहरुमा सफागर्ने चनल छ ।

वर्षातका वेला बगेर आउने भेल र फोहोर पानी पिउने पानीको मुहानमा मिसिएर पानी दुषित नहोस भनी पानीको मुहान र स्रोतको वरिपरि समेत सरसफाइ गरी निकास खोल्नु यो पर्वको विशेषता हो । हिँउदमा पुरिएको, थुनिएको र सुकेको मुललाई वर्षातको पानीले फुटाउने भएकाले पनि बर्षको एक दिन सिथि नखाःको दिन पानीको मुलको सफाई गर्ने गरेको हो ।

साथै शुद्ध भई नवदुर्गा भवानी र शक्तिपीठमा पूजा गरी नयाँ गहुँबाट तयार गरिएको परिकार चढाउनाले गहुँ उत्पादनमा बृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास छ । सिथि नखाःका दिन किसानहरूले खेत बारीमा काम गर्दैनन । विषेश गरि आज नेवाः परम्परागत रोटी माय्ःओ (मास पीसेर बनाउने रोटी) मूःओ (मुगीको दाल पिसेर बनाएको रोटी, सातु, गहुँको पीठोबाट बनाउने परिकार) र चटामरी (चामलको पिठोबाट बनाउने रोटी) लगायतका बिभिन्न परिकार पकाएर भोज खाने चलन छ । यस दिन ओः लगायतका पकवान खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षा याममा धान खेतीमा काम गर्न बल पुग्ने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV