२ असार २०७८, बुधबार

मेलम्ची । मेलम्ची खोलामा एक्कासि आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा पर्ने नदी किनारका क्षेत्रमा ठूलो क्षति पु-याएको छ ।

बाढीका कारण क्षति भएका सडक खुलाई घाइते र बीच बाटोमा अलपत्र सर्वसाधारणलाई गन्तव्यमा पठाउनका लागि प्रयास भइरहेको छ । बाढीका कारण सो क्षेत्रमा मोटरेवल पुल र झोलुङ्गे पुलहरु बगाएको हेलम्बु गाँउपालीकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

बाढीपछि सडक यातायातलाई सूचारु गर्न सकेमा सर्वसाधारणलाई राहतका साथै अन्य व्यवस्था गर्न सहज हुने उनले बताए । बाढी पछिको अवस्था बुझ्न मेलम्ची पुगेका कांग्रेस नेता मोहन बस्नेतको टोलीसँग उनले एक्कासि आएको बाढीबाट क्षतिको पूर्ण रुपमा विवरण नआएपछि सवै व्यवस्था स्थानीय तहले गर्ने बताए ।

अहिले भने तत्काल सडक खुलाउनका लागि नै सरकारले ध्यान दिनुपर्ने उनले जिकिर गरे ।
सो क्रममा कांग्रेस नेता बस्नेतले सर्वसाधारणलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था गर्नुपर्ने र अन्य क्षति भएका पूर्वाधार निर्माणका लागी आफूहरु जुट्ने बताए ।

प्राकृतिक प्रकोपबाट भएको क्षतीबाट समस्यामा परेको जनतालाई छिटो भन्दा छिटो राहत उद्धारका काम गर्ने उनको भनाइ छ । स्थानीयहरुले रातिको बाढीबाट धेरै बासिन्दा हराइरहेको बताए ।

उनीहरुले खोलाको वहाव कहिले घट्ने र कहिले बढ्ने गर्दा त्रास बढेको बताएका छन् । राती खोलाको वहाव घटेपछि सामान निकाल्न खोला छेउका स्थानमा पुग्दा पुन बहाव बढेको र झन ठूलो क्षति भएको उनीहरुले बताए ।

बाढीपछि सो क्षेत्रमा सुरक्षाकर्मीलगायत स्थानीय उद्धारमा खटिएका थिए । सम्भावित अन्य दुर्घटनालाई मध्यनजर गर्दै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV