१ असार २०७८, मंगलवार

रौतहट । रौतहटमा एक वृद्धा महिलालाई बोक्सीको आरोपमा मरासन्न हुनेगरि कुटिएको छ ।

रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुहवा टोल बस्ने ६५ वर्षीया श्रीपती देवीलाई उनकै छिमेकी संदिप महरा सहितको समुहले शनिबार बिहान ८ बजे सांघातिक आक्रमण गरेको परिवारका सदस्यहरुको आरोप छ ।

सो दिन आफ्नो घरबाट शिवनगर स्थित शिव मन्दिर जानेक्रममा बाटोमा संदिप र उनका साथमा रहेका केही अन्य व्यक्तिहरुलाई उनलाई धारिलो हतियार, भाटाले अन्धाधुन्ध आक्रमण गरेका थिए ।

आक्रमण परेर उनको टाउको , हात, कान लगायत शरीरका सबै भागहरुमा चोट लागेको छ । उनको टाउको छियाँछियाँ भएको छ । कुटाइबाट उनका दुबै आँखा सुन्निएर बन्द भएका छन् । उनी अहिले पनि अर्धचेत अवस्थामा छिन् ।

प्रहरीले घटनास्थलबाट उनलाई आक्रमण गर्नको लागि प्रयोग भएको भाँटाको बन्डलनै बरामद गरेको छ । उनको आक्रआक्रमण पश्चात म¥यो भनेर सो समुहले उनलाई त्यहीँ छाडेर भागेको थियो ।

मृत्युसँग लडिरहेकी श्रीपती देवीलाई सोही बाटो हुँदै खेतमा गइरहेका स्थानियले देखेर उद्धार गरी चन्द्रपुर ४ स्थित सिभिल अस्पतालमा लगेका थिए । हाल सो अस्पतालमा उनको उपचार भइरहेको छ । उपचारको क्रममा उनको टाउको लगायत शरिरका १० ठाउँमा ३ सय बढि टाँका लगाउनु परेको अस्पतालका मेडिकल अफिसर डाक्टर हरिशंकर मण्डलले जानकारी दिनुभयो ।

श्रीपती देवीको श्रीमानको १० वर्ष अगाडि मृत्यु भएको थियो भने उनको छोरालाई सशस्त्र द्धन्द्धको बेला माओवादीहरुले गोली हानी हत्या गरेका थिए । श्रीमानको मृत्यु भएपछिनै उनलाई संदिपको परिवारले बोक्सी भन्दै मानसिक यातना दिने गरेको उनको परिवारको आरोप छ । संदिपको परिवारका सदस्यहरुले दैनिकजसो श्रीपती देवीको घरमा आएर यो बोक्सी हो, यसलाई छाड्नु हुँदैन् भन्ने गरेको उनको छोरी सुनितादेविको भनाइ छ ।

उपचारमा आर्थिक अभाव

आर्थिक अवस्था निकै कमजोर भएकी श्रीपती देवीको उपचारमा आर्थिक समस्या परेको छ । अहिले सिभिल अस्पतालले सामाजिक दायित्व वहन गर्दै उनको उपचार गरिरहेपनि कति दिन अस्पतालमा बस्नुपर्ने अझै तय भएको छैनन् । उनलाई औषधी किनेर खुवाउने पैसा पनि परिवारसँग छैन् । उनको स्वास्थ्य स्थिति अझै खराब भए थप उपचारको लागि काठमाडौँ लानुपर्ने हुन्छ ।

यदि त्यस्तो अवस्था आए उनीहरुसँग केही विकल्पनै छैन् । उनकी बुहारी अनारकलीले आफुहरुको सम्पति केही नभएकोले आफ्नी सासुको उपचार कसरी गर्ने भन्ने चिन्ताले सताएको दुःखेसो गरिन् । उनले सहयोगी हातहरुले साथ दिए सासुको उपचार गर्न सकिने आशा गर्दै सबैलाई सहयोग लागि अनुरोध गरिन् ।

सन्दिप महरा

संदिप फरार , प्रहरीद्धारा खोजी तीव्र
घटनाको सुचना पाए लगतै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठको कमाण्डमा गएको टोलीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान सुरु गरेको छ ।

घटनाका मुख्य आरोपी संदिप महरा र घटनामा संलग्न अन्य भने फरार रहेका छन् । उनीहरु कहाँ लुकेका छन् भन्ने बारे प्रहरी अनविज्ञनै छ । प्रहरीले पिडितको जाहेरीको आधारमा संदिपका बुबा जंगीलाल महरालाई नियन्त्रण लिइ सोधपुछ गरेता पनि सन्दिपलाई भने पक्राउ गर्न सफल भएको छैन् । ‘हामीले फरार रहेका संदिपको खोजी कार्यलाई तिव्र बनाएका छौँ’ प्रनाउ श्रेष्ठले भने, ‘चाँडै उनी प्रहरीको नियन्त्रणमा आउँछन र घटनाबारेथप रहस्य खुल्दै जान्छ । हामीले आफ्नो सम्पूर्ण संयन्त्र सन्दिपको खोजीमा लगाएका छौँ ।’

यसरी एक वृद्ध महिला माथि ज्यानै लिने मनासयले गरिएको सांघातिक आक्रमणको जति निन्दा गरेपनि कम हुने स्थानीय नेता उपेन्द्र साहको भनाइ छ । नेपालको कानुनलेनै बन्देज गरेको बोक्सीप्रथालाई विश्वास गरेर सोही आरोपमा कुनै महिलाको ज्यान लिने कार्य गर्नेलाई प्रहरी पक्राउ गरेर चाँडैनै कानुनी कठघरामा उभ्याउनुपर्ने उनले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV