३१ जेष्ठ २०७८, सोमबार
  • हरिशंकर शर्मा,

वीरगञ्ज । बाराको करैयामाई गाउँपालिका–८ बेलाहीस्थित पारसानवा नदीमा पुल निर्माणको ठेक्का पाएको समयावधि सकिन लाग्दा पनि पुल निर्माण कार्य शुरु हुन सकेको छैन । पुल निर्माणको ठेक्का पाएको विनोद साह निर्माण सेवाले एक वर्ष वित्न लाग्दा पनि निर्माण कार्य सुरु नगरेको हो ।

उक्त निर्माण कम्पनीको सञ्चालक कलैया उपमहानगरपालिका–१६ का वडाध्यक्ष शेषनाथ साह तेली रहेका छन् । निर्माण कम्पनीले ६ करोड ७५ लाख ५० हजार रुपैयाँको लागतमा उक्त पुल निर्माण गर्न ठेक्का लिएको हो ।

निर्माण कम्पनीले गाउँपालिकासँग २०७७ असार ११ गते पुल निर्माणको लागि गरेको सम्झौत अनुसार २०७८ कात्तिक मसान्तभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने हो, तर हालसम्म पनि निर्माण कार्य शुरु भएको छ्रैन ।

सम्झौता लगत्तै पुल निर्माण कार्य अगाडि बढाउन ठेकेदारले कुल लागतको १० प्रतिशत ६७ लाख ५५ हजार मोबिलाइजेशन (पेश्की) समेत लिइसकेको छ । तर, ठेक्का सम्झौता भएको एक वर्ष वित्न लाग्दा पनि हालसम्म निर्माण स्थलमा होर्डिङ बोर्ड समेत राखिएको छैन ।

पेश्की लिएको ३० दिनभित्र काम शुरु गरिसक्नुपर्नेमा ठेक्का सम्झौताको अवधि सकिन लाग्दा पनि पुल निर्माण कार्य शुरु हुन सकेको छैन । यस विषयमा गाउँपालिकाले वेवास्ता गर्दै आएको स्थानीयको भनाइ छ ।

हालसम्म एक पटक अनुगमन समेत नगरिएकाले जनप्रतिनिधिलगायत गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत एवं गाउँपालिका इन्जिनियर समेतको मिलोमत्तोमा बजेट सिध्याउने काम मात्रै भएको छ ।

गाउँपालिका र ठेकेदारको लापरवाहीका कारण आर्थिक बर्ष २०७६÷७७ को राष्ट्रिय योजना आयोगको स्विकृत बजेट अन्तर्गत ५० प्रतिशत गाउँपालिकाको लगानीमा बन्न लागेको उक्त पुल निर्माण कार्य अलपत्र परेको छ ।

पुल निर्माणबारे जवाफ माग्दा अधिृकतको सरुवा

दुई महिना पहिले करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाह रहँदा उनले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र महतो र प्राविधिक शाखा प्रमुख अवधेश प्रसाद कुशवाहासँग पुल निर्माण कार्य सम्बन्धमा लिखित जवाफ समेत माग्दा उनको सरुवा गरिएको थियो ।

पुलको डीपीआरदेखि योजना सम्झौता, मोबिलाइजेशन समेतमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र प्राविधिक प्रमुखको सलंग्नता देखिएको भन्दै लिखित जवाफ माग्दा कुशवाहाको त्यहाँबाट सरुवा गरिएको थियो ।

निर्माण कार्य अलपत्र छाड्ने ठेकेदारलाई नै पुनः तियर नदी पुल निर्माणको जिम्मा!

पारसानवा नदीमा पुल निर्माण गर्न ठेक्का र पेश्की लिएर एक वर्षसम्ममा काम समेत सुरु नगरेको नागा अर्जुन–बिनोद साह जेभीले पुनः सोही वडामा पर्ने ईटहर बेलाही जोड्ने सडकमा पर्ने तियर नदी पुल निर्माणको ठेक्का पाएको छ ।

प्रदेश सरकारको भौतिक पूर्वधार विकास मन्त्रालय अन्तर्गतको ८ करोडको बजेटमा निर्माण हुने तियर नदीको पुल निर्माणको जिम्मा नागा अर्जुन विनोद साह जेभीले लिएको छ । नागा अर्जुन विनोद साह जेभीले ३३ प्रतिशत विलोमा ५ करोड ४० लाख ४५ हजारमा पुल निर्माणको ठेक्का सकार गरेको पूर्वाधार विकार कार्यालय वीरगञ्जका इन्जिनियर विवेकानन्द झाले बताए ।

उनका अनुसार पुल निर्माणको लागि २०७८ जेठ १६ गते सम्झौता भएकोमा २ बर्षभित्र २०८० जेठ १५ गतेसम्म निर्माण कार्य सम्पन्न गर्नु पर्नेछ । तियर नदीको पुल निर्माणको लागि पनि ठेकेदार कम्पनीले मोबिलाइजेशन (पेश्की) १० प्रतिशत ५४ लाख ४५ हजार लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV