३१ जेष्ठ २०७८, सोमबार
  • तारा आचार्य,

विराटनगर । जिल्ला प्रशासन मोरङले केही खुकुलो प्रावधानसहित थप ७ दिन (असार ७ गतेसम्म)का लागि निषेधाज्ञाको समयावघि थप गरेको छ ।

सोमबार विराटनगरस्थित जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै पनि उच्च देखिएको भन्दै निषेधाज्ञाको समय लम्याउने निर्णय गरेको हो ।

बैठकले स्थानीय प्रशासन ऐन २०३८ को दफा ६ को उपदफा ३ र कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ बमोजिम निषेधाज्ञाको समय थप गरेको हो । असार १ गते देखि लागू हुने गरी असार ७ गतेसम्म समय थपिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए ।

अबको निषेधाज्ञामा खाद्य बस्तु, इन्धन, खानापकाउने ग्यास, तरकारी, फलफूल माछामासु र पुस्तक पसल लगायतका व्यावसायहरु विहान ५ बजेदेखि विहान ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

वर्कसपहरु पनि बिहान देखिनै सञ्चालन गर्न सकिने भएको छ । सरकारी कर्मचारीहरुले परिचयपत्र देखाएर आवतजावत गर्न पाइने छ ।

पहिलेको भन्दा धेरै खुकुलो बनाइएसँगै अब दूध तथा दुग्धजन्य पदार्थ बिक्री गर्ने डेरी पसलहरु विहन ५ बजे देखि बेलुका ७ बजे सम्म सञ्चालन गर्न पाइने भएको छ । कृषिजन्य उत्पादनको ओसारपसारमा कुनै रोकटोक नहुने आदेशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV