३१ जेष्ठ २०७८, सोमबार

पाँचथर । फिदिम नगरपालिका–४ जोरसाल बजार छेउ कुमालेटोलका वृद्धको आइतबार राति भएको हत्याको घटनाको प्रहरीले अनुसन्धान जारी राखेको छ ।

हत्यामा संलग्नको पहिचानका लागि प्रहरीले घटनास्थल आसपासका क्षेत्रका स्थानीयवासी, मृतकका आफन्त तथा पछिल्लो समय सम्पर्कमा रहेकासँग सोधपुछ गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयले सङ्घीय प्रहरी एकाइ सुनसरी धरानबाट तालीमप्राप्त दुई कुकुर झिकाई घटनामा संलग्नको पहिचानको प्रयास गरेको थियो । कुकुरले हत्यामा संलग्नको पहिचान गर्न सकेका छैनन् ।

घटना भएको ढिलो गरी जानकारी प्राप्त हुनु, घटनापछि पानी पर्नाले प्रमाण नष्ट हुनु तथा अनुसन्धान गर्नुपर्ने क्षेत्रमा मानवीय गतिविधि बढी हुनुले कुकुरले हत्यामा संलग्नको पहिचान गर्न नसकेको हो ।

कुकुरले हत्यामा संलग्नको पहिचान गर्न नसकेपछि विभिन्न प्राविधिक कोणबाट अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए। ‘विभिन्न प्राविधिक कोणबाट अनुसन्धान भइरहेको छ, केही प्रगति पनि भएको छ,’ प्रहरी निरीक्षक विश्वकर्माले भने, ‘तर निष्कर्षमा पुग्न बाँकी छ ।’ प्रहरीले टेकबहादुरसँगको सम्पर्कका व्यक्तिसँग सोधपुछ जारी राखेको छ ।

जोरसाल बजार छेउ कुमालेटोलका ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको आइतबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । फिदिम–२ ओदिनमा समेत घर भएका टेकबहादुर श्रीमती कालीमायासहित कुमालेटोलमा बसोबास गर्दै आएको बताइएको छ । पक्षघातबाट ग्रसित कालीमायाले घटनाको जानकारी दिन नसक्दा आइतबार बिहान मात्रै घटना सार्वजनिक भएको थियो । मृतकका जेठा छोरा–बुहारी सुनसरीको धरानमा तथा कान्छा छोरा–बुहारी ओदिनमा बसोबास गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV