३१ जेष्ठ २०७८, सोमबार

वीरगंज (पर्सा) । विकास निर्माण कार्यमा स्थानीय जनप्रतिनिधिहरुको फोहरी राजनीतिको कारण सर्वसाधारण सधैं चेपुवामा पर्दै आएको छ । स्थानीय जनप्रतिनिधि नै स्वार्थयुक्त राजनीतिमा डुबेपछि त्यहाँका सर्वसाधारणले सास्ती खेप्नुपर्ने नै हो । त्यही अवस्था भएको छ बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नं. ८ स्थित बेलाही टोलमा । बेलाही देखि ईटहर हुँदै सदरमुकाम कलैया जाने बाटो जोड्ने मुख्य सडकमा पर्ने तियर नदीमा पुल निर्माण गर्नुपर्नेमा स्थानीय जनप्रतिनिधिको पहलमा बन्द बाटोमा पर्ने कुलोमा लगेर ५ करोडको पुल निर्माण गर्न लागेपछि स्थानीयहरुले विरोध प्रदर्शन गरि निर्माण कार्यमा रोक लगाएका छन् ।

बारा जिल्लाको कलैया सदरमुकाम जोड्ने र दिनहुँ हजारौं नागरिक आवत जावत गर्ने ईटहर बेलाही मुख्य सडकमा पर्ने तियर नदीमा पहिला पुल निर्माण गरि मात्रै अन्त्यत्र पुल निर्माण गर्नुपर्ने स्थानीयहरुको माग छ । तियर नदीमा पुल निर्माण नभएको कारण वर्षा याममा नदीमा पानीको बहाव बढेपछि बेलाही गाउँका स्थानीयहरु सदरमुकामको बाटोसँग सम्पर्क विच्छेद हुने गर्दछ । अन्य बेलामा जसोतसो पानी तरेर गएपनि वर्षा याममा नदीमा पानीको बहाव बढेसँगै सदरमुकाम जाने बाटोसँग सम्पर्क विच्छेद हुने गरेको स्थानीयहरुको भनाई छ ।

उनीहरुका अनुसार नदीमा पुल नभएको कारण सवारी साधन आगावमनमा समस्या भएको छ, विरामीलाई लैजान एम्बुलेन्स गाउँमा आउन सक्दैन, गाउँबाट विरामीलाई बोकेर नदी पारी लगेर मात्रै एम्बुलेन्समा राखेर सदरमुकाम लैजानुपर्ने अवस्था हुन्छ, विद्यार्थीहरु विद्यालय जान पाउँदैनन्, यहाँसम्म कि शादी विवाहमा पनि सवारी साधन नदी पारी नै राखेर दुलहालाई ल्याउने गरेको र दुलहीलाई बाँसको पालकीमा राखेर नदी पार गराएर मात्रै गाडीमा लैजाने गरेको बताए ।

तियर नदीमा पुलको आवश्यकता रहेको स्थानीय जनप्रतिधिदेखि प्रदेश सभा सदस्य एवं त्यस क्षेत्रबाट जितेका सांसदहरुलाई पनि जानकारी छ, तर पुल निर्माणमा कसैले चाँसो देखाउँदैन । सधैं निर्वाचनको बेला त्यही पुल निर्माणको एजेण्डा बनाएर राजनीतिक दलका नेता कार्यकर्ताहरु भोट माग्न त्यहाँ जान्छन् तर विजयी भएपछि एक पटक पनि फर्केर हेर्दैनन्, भन्दै स्थानीयहरुले यस आर्थिक वर्षमा तियर पुल निर्माणको लागि बजेट छुट्याइएपनि त्यहाँ निर्माण नगरेर मानिसको आवागमन नै नहुने ठाउँमा पुल निर्माण भइरहेकोले निर्माण कार्यमा अवरोध गरिएको उनीहरुको भनाई छ ।

५०-५० प्रतिशत गाउँपालिका र केन्द्र सरकारको ५ करोडको बजेटमा त्यही वडामा पर्ने पारसानवा नदीमा पुल निर्माण कार्य हुन थालेपछि गाउँमा विवाद समेत भएको छ । त्यो पुल निर्माणका लागि ठेक्का पाएका कलैया उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष समेत रहेका शेषनाथ साहको विनोद साह निर्माण सेवा कम्पनीले ठेक्का पाएको छ । उक्त पुल निर्माणका लागि ठेकेदार कम्पनीले ५० लाख पेस्की पनि उठाई सकेको छ । तर तियर नदी पुल निर्माणको लागि ९ करोड बजेट छुट्याइएको छ तर त्यसको निर्माण कार्य शुरु पनि गरिएको छैन । यो पुलको पनि निर्माणको जिम्मा सोही ठेकेदार कम्पनीले पाएको छ ।

यसबारे करैयामाई गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष सुरेन्द्र साहले दुबै पुलको एकै पटक निर्माण कार्य गरिने बताए । पहिला तियर नदीमा नै पुलको आवश्यकता रहेको आफूलाई पनि महसुस भएको तर दुबै योजना एकै वर्ष पास भएको तर तियर नदी भन्दा १५ दिन अगाडि मात्रै पारसानवा नदीको पुलको शिलान्यास गरिएकोले स्थानीयहरुले पहिला तियर नदीको पुल निर्माण गर्नुपर्ने भनेर विरोध गर्दै अर्को पुलको निर्माण कार्यमा पनि अवरोध पु¥याएको बताए ।

प्रदेश सरकारको राष्ट्रिय आयोजना आयोगको समपुरक बजेटबाट ५ पारसानवा नदीमा पुल निर्माणको बजेट छुट्याइएर निर्माण कार्य शुरु भएपछि तियर नदीमा पुल निर्माण हुनुपर्ने माग गर्दै स्थानीयहरु विरोध प्रदर्शनमा उत्रिएको भन्दै वडाध्यक्ष साहले तियर नदीमा पुलको लागि पनि योजना पास भइसकेर निर्माणको लागि सम्झौता पनि भइसकेकोले दुबै पुल एकै पटक निर्माण गर्न आफूहरु लागि परेको बताए । उनका अनुसार अहिले निर्माण हुन लागेको पारसानवा नदीको पुल जोड्ने बाटोबाट अहिले मानिसहरु आवागमन नगरेपनि त्यो सडक पोखरीया, लंगडाचोक हुँदै हुलाकी सडकलाई जोड्ने भएको र सरकारको नक्सामा उक्त सडक रहेकोले त्यहाँ पुल निर्माण गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV