३१ जेष्ठ २०७८, सोमबार

पाल्पा । पाल्पामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिले जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १२ गतेसम्म थप्ने निर्णय गरेकाे हो ।

कोभिड-१९ को सङ्क्रमण घटे पनि अझै नियन्त्रण भइनसकेकाले जारी निषेधाज्ञा केही खुकुलो गरी १२ दिन थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले बताउनुभयो ।

अधिकारी पाण्डेयका अनुसार असार १२ गते रति१२ बजेसम्म निषेधाज्ञा जारी रहनेछ । थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना ११ बजेसम्म खोल्न पाइने छ । यसअघि १० बजेसम्म खोल्न पाइन्थ्यो ।

यसपटक पुस्तक पसलहरु समेत विहान ११ बजेसम्म खोल्न पाइने भएको छ । शैक्षिक सत्र सुरुवात भएकाले पाठ्यपुस्तक विक्रीमा सहजिकरणका लागि पुस्तक पसल समेत खोल्ने निणर्य गरिएको अधिकारी पाण्डयले जानकारी दिनुभयो ।

अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरु संचालन हुनेछन् भने सार्वजनिक यातायात र अन्य पसलहरु भने बन्द नै रहने छ ।

पाल्पामा अहिले कोरोना जाँच भएका ७५६ जना सक्रिय संक्रमीत मध्ये ७०३ जना होम आइसोलेशन र ५३ जना विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचाररत रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV