३१ जेष्ठ २०७८, सोमबार
  • तस्बीर : महेश्वर के.सी.

काठमाडौं । मनसुन सुरु भएसँगै टोखाका कृषक धान रोप्नमा तल्लीन छन् । हरेक वर्षको जेठ २६ गतेबाट रोपाइँ गर्ने गरेका उनीहरू यसपाली पनि समयमै पानी परेपछि धान रोपाइँमा लागिपरेका हुन् ।

हिजोआज उनीहरु  दैनिकजसो खेतमै हुन्छन् । वरपरका छिमेकीसँग अर्मपर्म गरेर दैनिक धान रोपाइँ गरिरहेका छन् । बालबच्चाहरु पनि कुनै प्रवाह नगरी हिलोमा र पानीमा रमाउने गरेका छन् ।

उनीहरूलाई कोरोना महामारीको त्रास त्यति देखिँदैन । किनकि आफूहरू सीमित गाउँभित्र रहेकाले कोरोना महामारीले नछाेएको अनुमान गर्छन् । आफ्ना बालबालिकाहरुसँगै रोपाइँ गरिरहेका उनीहरुमा न पानी न हिलो कुनैको प्रवाह छैन ।

विषेशगरी नेवारी समुदायको बस्ती रहेको टोखाका खेतबारीहरू नेवारी भाषाको असारे गीतले गुञ्जायमान थियो आइतबार । पहिला-पहिला धान रोपाइँमा असारे गीत गाउँने भए पनि आजभोलि भने यो भाका लोप हुँदै आएको एक कृषकले बताए ।

विगतमा धान खेती धेरै भए पनि अहिले जनसंख्या वृद्धि र शहरीकरणले खेती नै घटेको  स्थानीय कृषक बताउछन् । एकाघरका छोराहरुलाई भागबण्डा अंश दिँदादिँदै सबैका जग्गा टुक्रिएर धान रोपाइँ गर्ने क्षेत्रफल नै घट्ने गरेको उनीहरुको भनाइ छ ।

त्यस्तै आधुधिक प्रविधिले किसानहरुलाई काम गर्न सहज हुँदा रोपाइँ छिटो हुने उनीहरूको भनाइ छ । पहिला ४ हल गोरुले जोत्नुपर्ने खेत अहिले ट्याक्टरले एकैछिनमा जोतिसक्ने उनी बताउँछन् । जसले कृषिका लागि सहज भएको छ । नयाँ प्रजातिकाे धान राेप्न पनि सहज भएकाे छ ।

एक कृषक भछन्, ‘पहिला ५० रोपार र १० देखि १५ लाठे हुन्थे । अहिले १५ जनाले एकैछिनमा रोपिसक्छन् ।’ उनले यो वर्ष ६ किलो धानको बीउको मात्रै रोपाइँ गरेको बताए । उक्त धानको बीउ ८ सय रुपैयाँ  प्रतिकिलो पर्ने र एक रोपानीमा ६ मुरी फल्ने गरेको उनको भनाइ छ ।

त्यति ६ किलोको वीउको रोपाईमा एक सय ठेला मल चाहिने गरेको उनको भनाइ छ । उक्त मलले धानमा झार पनि मार्ने भनेर कृषि कार्यालयले बताएको रहेछ । विगतमा युरिया नै हाल्ने गरेकाले अहिले डीएपी मल हाल्न थालेकाे कृषकहरुको भनाइ छ । डीपीए मल पहिलो पटक प्रयोग गर्दै गरेकाले उपयोगिताबारे अनविज्ञ रहेको उनीहरू बताउँछन् ।

युरिया मल भने अहिले बजारमा नपाउँदा कृषि गर्नका लागि समस्या परेको बताउँछन् । ती कृषक युरिया मल धान खेतिका लागि अनिवार्य जस्तै भएको बताउँछन् । तर बजारमा अहिले जति पैसा तिरेर किन्न जाँदा पनि नपाएको बताउछन् । आफूले भने पहिल्यै जोहो गरेर राखेकोले त्यो नै प्रयोग गर्ने गरेकाे सुनाए । तर गाउँका अन्य छिमेकीले भने पछि आउछ पछि नै किन्छौँ भनेर बसेकाहरुले भने अहिले युरिया मलको अभाव खेपि रहनु परेको उनको भनाइ छ । उनीहरू सबै अहिले कृषि कार्यलयले दिएको डीपीए मलमा निर्भर छन् ।

बजारबाट किनको चामल तथा तरकारी खानुभन्दा आफै आफ्नै खेतबारीमा लगाएका खानेकुरा खानु स्वादिलाे हुने किसानहरुको सुझाव छ ।

नदीनाला गहिरिँदै जाँदा खेती गर्न समस्या भएको पनि कृषकहरुले बताए । पहिले बगेको खोलाबाट सामान्य बाँध लगाउँदा पनि खेतमा पानी आउने गरेकोमा अहिले खोला गहिरिँदा मेसिनले तान्दा पनि पानी नआउने अवस्थाका कारण समस्या भएको बताउछन् । अहिले रोपाईका लागि कि त आकाशे पानि या त इनारको पानीमै भर पर्नु पर्ने उनीहरुको भनाइ छ ।

त्यस्तै टोखाका अन्य किसानहरु भने केही खेत रोपाइँ गरिसकेको र अन्य ठाउँमा बीउ सानै भएकोले रोप्न बाँकी नै रहेको बताउँछन् । मल अभावले धानको वीउ नसप्रिएको  पनि उनीहरुले सुनाए । विगतमा एक चौथाइ खेतमा रोप्ने धान यो पटक बीउ नसप्रेकाले १ तिहाइ बीउले नै धान्नुपरेकाे उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV