३१ जेष्ठ २०७८, सोमबार

मेरो भन्दा फरक राजनीतिक पार्टीसँग आस्था राख्ने एकजना मित्रसँग कतै चिया पिउने सन्दर्भमा भेट भयो । हामी फरक राजनीतिक धारका मान्छे भए पनि हाम्रा धेरैजसो भावना, लक्ष्य र उद्देश्यहरू एकै ठाउँमा भएकाले हाम्रो भावनात्मक सम्बन्ध एकदमै राम्रो थियो । त्यस्ता भेटघाटहरुमा गरिने अधिकतम डिबेट (बहस) हरु सधैँ राजनीति र समाजसँग जोडिएका परिदृश्यका सेरोफेरोमा हुन्थे ।

२०७६ पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपश्चात् मुलुकमा देखिएका आम घटना–परिघटना, आरोप–प्रत्यारोप र बानी एक दलले अर्कोसँग, एक गुटले अर्को गुटसँग पानी बाराबारको स्थिति देखियो । यसले चरम रुप लिइसकेपछि उनीसँग भेट भएको थियो । मसँगको भेटमा उनको पहिलो प्रश्न थियो– ‘कम्रेड, देशको राजनीति यो दिशातर्फ उन्मुख भइरहेको यस विषम परिप्रेक्षमा अब कसरी अगाडि बढ्ने भनेर सोच्नुभएको छ ?’ उनको राय र निष्कर्ष सुनिसकेपछि मात्र आफ्नो राय अभिव्यक्त गर्ने भनेर मैले मुसुमुसु हाँस्दै जवाफ दिएँ, ‘त्यो विषयमा त मैले आफ्नो ध्यान केन्द्रित गरेकै छैन । बरु भन्नुस् तपाईंको अबको कार्ययोजना र रणनीति ?’

उनले धाराप्रवाहका साथ भने, ‘हेर्नुस् कम्रेड, मुलुकको उच्च राजनीतिक वृत्तमा आजसम्म जो(जो देखिएका छन् र जुनजुन माध्यमको भर्र्याङ् लगाएर त्यहाँ पुगेका छन् भनेर मेरो अनुसन्धान र भोगाइले प्रस्ट पारेको छ, त्यही प्रवृत्तिलाई नै अङ्कमाल गरे मात्र अहिलेको राजनीतिक सफलता सुनिश्चित छ । ती सबै सबै प्रवृत्तिहरू मसँग छैनन् । किशोरावस्थादेखि नै राजनीतिमा होमिएर आज जीवनले ३५ औँ बसन्तहरू पार गरिन्जेलसम्मको यो अवधिमा राजनीतिको माध्यमबाट समाजको निम्ति आफ्नो जिन्दगीको सर्वश्रेष्ठ उर्जाशील समय व्यतित गरेकोमा इन्ट्रोभर्ट्ली त सन्तुष्ट नै छु, तर एक्स्ट्रोभर्ट्ली सन्तुष्ट छैन । किनभने हिजो मैले राजनीति थालनी गर्दाको परिवेश र १६ वर्षपछिको राजनीतिक परिवेश उस्तै छ । मनले भन्छ– राजनीतिक जीवनलाई यही तिलान्जली दिएर व्यक्तिगत जीवनलाई बनाऊँ । तर दिमागले यदि तैँले राजनीति छोड्ने नै हो भने आफूभन्दा मुर्खहरूद्वारा शासित हुने तयारी सँगसँगै थाल्नुपर्छ भन्छ । यी दुईटाको आन्तरिक कन्ट्राडिक्सनले आजकाल अशान्त बनाएको छ । यस विषयमा तपाईंको मेरा निम्ति सुझावहरू के हुन सक्छन ?’

उनको यो प्रश्न त मेरो पनि कसैसँग व्यक्त नभएको प्रश्न थियो । मैले हाँसेर जवाफ दिएँ– ‘यो प्रश्नको उपयुक्त विकल्पसहितको उत्तरको अन्वेषणमा म आफू पनि छु । तर यसको निवारणका निम्ति युथ जेनेरेसन अझ पोलिटिकल पार्टीहरूसँग इन्भल्भ भएका तपाईं–हामीले अलिक पृथक तवरले बहस गरेर अगाडि बढ्नुको विकल्प छैन ।’

मानव सभ्यतालाई ढुङ्गे युगदेखि आजको २१ औ शताब्दीको आधुनिक विज्ञानी युगसम्म गतिशील तवरले सांसारिक अस्तित्वमा आधारित मानवीय समानता र समतामूलक समाज प्रकृतिले आफ्नो तर्फबाट त सृजना गर्यो, तर मानव अझै विभेदको कुचक्र चलाएर बसेको छ । कलियुगसम्म आइपुग्दा व्यक्ति–व्यक्तिबीचको निजी स्वार्थको दुश्चक्रको बृहत् खाडलमा मुलुक कैदीबन्दी हुनु हामी आम नेपालीको लागि दुःखको कुरा हो । इतिहासमा ७० वर्ष पहिलेलाई मात्र हेर्दा पनि २००७ सम्मको परम्परागत राणाकाल, त्यसपछिको नेपाली काङ्ग्रेसको अन्तरिम सरकार, २०१५ मा दुइतिहाइको कङ्ग्रेसको जननिर्वाचित सरकार, २०१७ मा राजाको प्रत्यक्ष शासन, २०४७ मा बहुदलीय प्रजातन्त्र, अढाई सय वर्ष पुरानो राजतन्त्रात्मक शासन व्यवस्थालाई धुलो चटाएर गणतन्त्रात्मक व्यवस्थाको व्यत्पत्तिसँगै २(२ पटक संविधान सभाको गठन, २०७४ को नेकपाको दुई तिहाई सरकारसम्म आइपुग्दासम्म पनि राजनीतिक प्रयोगमा पहिले र अहिले खास तात्विक भिन्नता देखिन्न ।

विश्वको सबैभन्दा गरिब, अविकसित, अशान्त र अस्थिर भनिएको रुवाण्डा लाखौँ नागरिकको ज्यान गएको जातीय मुद्दाको द्वन्द्वबाट मुक्ति पाएको २० वर्ष नपुग्दै समृद्ध राष्ट्रको सूचीमा उक्लिएको छ । रुवाण्डा हेरेर हामीले सिक्ने कि नाइ ?

मैले १५ वर्ष अगाडिदेखि नेपालको बारेमा पढ्दा नेपाल एक विकासोन्मुख राष्ट्र भनेको पढेकी थिएँ । आजको जेनेरेसन पनि यही स्कुलिङको वरिपरि रुमल्लिएको छ । यस परिस्थितिमा पुनः अबको २५ वर्ष पछाडिको पुस्तालेपनि आफ्ना सन्ततिहरूलाई यही स्कुलिङले प्रेरित गर्नुपर्दैन भन्ने कुराको कुनै सुनिश्चितता छैन ।

अब स्वाभाविक रुपमा प्रश्न उठ्छ र यो जरुरी पनि छ कि २००७ सालदेखि यहाँसम्म आइसक्दा पनि नेपालको समग्र विकासको पक्षमा ड्रास्टिक चेन्ज हुन किन सकेन ? शिक्षा, स्वास्थ, सञ्चार र यातायातका सवालमा झिनो प्रगति भए पनि ४० वर्षअगाडि फ्रान्सको राजधानी पेरिसमा अल्पविकसित देशका लागि पहिलो राष्ट्रसंघीय सम्मेलनको प्रतिनिधित्व गरेको नेपाल अल्पविकसित देशको सूचीमा दर्ज हुँदै गर्दा फ्रान्स पछिल्लो समय विकासको अद्भुत दिशामा फड्को मारिरहेको छ । विश्वको सबैभन्दा गरिब, अविकसित, अशान्त र अस्थिर भनिएको रुवाण्डा लाखौँ नागरिकको ज्यान गएको जातीय मुद्दाको द्वन्द्वबाट मुक्ति पाएको २० वर्ष नपुग्दै समृद्ध राष्ट्रको सूचीमा उक्लिएको छ । रुवाण्डा हेरेर हामीले सिक्ने कि नाइ ?

अत्याधिक मात्रामा प्राकृतिक स्रोत–साधनको सर्वसुलभता, हावापानीको सन्तुलितता हुँदाहुँदै पनि आजका दिनसम्म किन मुलुक परनिर्भरतामा रहनुपर्यो ? अहिलेसम्म मुलुकले जेजति विकास गर्यो, त्यो सबै विदेशी सहयोग र अनुदानको ढाडमा टेकेर गरेको होइन र ?’ हाम्रा कमि–कमजोरीहरू कहाँ-कहाँ कुनकुन शीर्षकहरूमा भए ? राजनीतिक र संवैधानिक पात्रहरू परिवर्तन गर्दैमा समग्र मुलुक परिवर्तन हुन्छ भन्नु कतिसम्म सत्य या भ्रम ? ७० वर्षयता पटकपटक सत्तास्वरुप र शासन व्यवस्था फेरिएको देखेका नेपाली जनता फेरि किन फरक(फरक व्यवस्थाको अपेक्षा गर्छन् ?

नेपालमा प्रशस्त मात्रामा रोजगारी, स्वास्थ र शिक्षाको सम्भावना हुँदाहुँदै पनि आज बाहिर पढ्न, डिफिकल्ट, डेन्जरस र डर्टी काम गर्न जाने युवाहरूको लाइन अन्तर्रास्ट्रिय विमानस्थलहरूमा र कन्सल्टेन्सिहरूमा किन देखिन्छ ? मुलुकको शिक्षा नीतिले किन युथहरूलाई तान्न सकेन ? युवालाई निर्यात गरेर रेमिट्यान्सको भरमा अझै मुलुकलाई कति टिकाउने ? नेपालमा संविधान बनेको कति वर्षपछि नेपाल बन्छ ?

पढेलेखेका मान्छेहरूले खराबलाई खराब र असललाइ असल भन्न सक्ने ल्याकत नराखेर व्यक्तिका नाममा आँखा चिम्लेर झ्याली र झ्याम्टा बजाउँदै हिड्नुको दुस्परिणाम हामी आज भोग्दै छौँ । विवेकी मान्छेहरूले नै विवेक गुमाएर गरिएका निर्णयहरूको प्रतिफल हो यो ।

मुलुक आम रुपमा समृद्ध नहुनुमा नेता र राजनीतिक दलहरूलाई मात्र औँला उठाएर दोष दिने परिपाटी जबसम्म टिकिरहन्छ, तबसम्म यही चलन चलिरहन्छ । राजनीतिमा लाग्नेहरू सबै खराब हुँदैनन् तर असल मान्छेहरू किन राजनीतिमा हत्तपत्त हाबी हुन सक्दैनन् भन्ने कुरा सर्वत्र चासोको विषय बन्नु पर्थ्यो । तर बन्न सकेन । नेताहरूले आफ्नो विवेकले काम गर्नेभन्दा पनि विदेशीको दबाब, अक्कल र उनीहरूको आन्तरिक स्वार्थको वरिपरि भएर काम गरेको कुरा नकार्न मिल्दैन । शिरमा संविधान र मुटुमा आफ्नो राष्ट्रलाई नराखेर केवल सत्ता जोगाउनका निम्ति भारतीय निर्देशनका अघि लम्पसार पर्ने यथास्थितिवादीहरूको विरुद्धमा आवाज बुलन्द गर्न हामी किन सकिरहेका छैनौँ ? क्रान्ति र परिवर्तन भन्दा एउटा व्यक्तिको भावनासँग भावनात्मक सम्बन्धलाई क्रान्ति सम्झिने, क्रान्तिप्रति बफादार बन्नेभन्दा नेताप्रतिको बफादारितालाई लिएर केवल कुर्सीको मोह, जम्माजम्मी आफ्नो आस्थाको जस्तोसुकै प्रवृत्तिको मान्छे भए पनि हुन्छ तर फरक पार्टीको हुनुहुन्न भन्ने अविवेकी निर्णयमा सरिक हुनेको बढ्दो जमातले खडा गरेको परिस्थितिकै उपज हो वर्तमान ।

पढेलेखेका मान्छेहरूले खराबलाई खराब र असललाइ असल भन्न सक्ने ल्याकत नराखेर व्यक्तिका नाममा आँखा चिम्लेर झ्याली र झ्याम्टा बजाउँदै हिड्नुको दुस्परिणाम हामी आज भोग्दै छौँ । विवेकी मान्छेहरूले नै विवेक गुमाएर गरिएका निर्णयहरूको प्रतिफल हो यो । देशमा भ्रष्टाचार, कालोबजारी, राष्ट्रघात, देशद्रोहजस्ता अपराधिक क्रियाकलापहरूले सगरमाथाको उचाइभन्दा अझ अग्लो रुप लिँदा पनि नेताहरूले काम गरेनन् भनेर टाउकोमा हात थमाएर बस्ने र अर्को चुनावमा त्यही नेतालाई चुनेर पठाउने हामीहरुकै प्रवृत्तिको दुष्परिणाम हो यो । मुलुकको ठूलो युवा जमातले राजनीतिलाई एउटा फोहोरी खेल भनेर ट्याग लगाउँदै पछाडी बस्ने इन्टेसन लिनु घातक हो ।

शिक्षित हुन् या अशिक्षित सबैलाई आफ्नो मुलुक समृद्ध भएको हेर्ने चाह हुन्छ । आफू सीमित घेराभित्र रहेर हाइपोथेटिकल्ली अनुमान र लाञ्छना लगाउँदै हिड्नेहरूले गम्भीर आत्मसमीक्षा गर्ने बेला आएको छ । अबको पुस्ताले विश्वको परिवर्तनशील चरित्रलाई दिमागमा आँक्न सक्ने ल्याकत राख्दै बिश्लेषणात्मक पद्धतिबाट आफ्नो मुलुकको आवश्यकता र सम्भावनाहरूलाई नजिकबाट हेर्न सक्नुपर्छ । राजनीतिक दललाई मात्र दोष देखाएर आफू पन्छिन खोज्ने र सधैँ कुन्ठा मात्र पालेर बस्नु युवा हुनुको परिचय किमार्थ हुन सक्दैन । जसलाइ जे मन लाग्यो, त्यही गर्न सक्ने गरी बनाइएको कानुनी कन्फ्युजनलाई पुर्णतः सहज सरल बनाएर अबको नयाँ बाटो कोर्न थालनी हामीले गर्नुपर्छ । नेपालको सन्दर्भमा हालसम्म मतदान योग्य जनसंख्याको ६८.६३५ प्रतिशतले मात्र मतदान अघिल्लो निर्वाचनमा गरेको तथ्यांकबाट बाँकी ३१.३७५ प्रतिशत मतदाताहरू किन भोट हाल्न गएनन भन्ने प्रश्न उठ्छ । आजका दिन सम्ममा लोकतन्त्रमा समावेश नभएकाहरूले लोकतन्त्रमा समावेश भएर नेता छान्न पाउने अधिकार र मतदाता बन्न पाउने अधिकारका लागि युवावर्ग आफैँ अग्रस्थानमा आउनु समयको माग हो ।

अहिले नेपालको सन्दर्भमा डेमोक्रेटिक स्टाबिलाइजेसन नै धरापमा परिरहेको बेला स्थिर भनेको एउटा अस्थिरता जस्तो मात्र देखिन्छ । युवाहरूले अधिकारको निम्ति लडेर गणतन्त्रको अभ्यासको यो चरणमा आइपुग्दा आफूले आफ्ना दायित्वहरू कति पूरा गर्यौं र कति अधुरै छन्, यसको लेखाजोखा आजको गर्नु जरुरी छ ।

हामीले कसैसँगको भावनात्मक सम्बन्ध र स्वार्थका कारण व्यभिचार विरुद्धका प्रश्न गर्न सकेनौँ र नेताहरूले देश बिगारे भन्दै मात्र गरिरह्यौँ भने भोलिको पुस्ताले हामीलाई लगाउने ब्लेम पनि यही हुनेछ ।

नागरिक स्वतन्त्रता, आर्थिक सामाजिक रुपान्तरणका कुरा संविधानमा ग्यारेन्टी भए तापनि कार्यान्वयनमा जान नसक्नुका समस्या र कारणहरूको बारे खोज गरौँ । विश्वका २०० मुलुकहरूमध्ये युथ डेभलपमेन्ट इन्डेक्समा हेर्दा हामी १७९ औँ स्थानमा रहेछौँ । अब प्रश्न छ– मुलुकका हरेक आन्दोलनका अग्रभागमा देखिने युवाजमात आज नेतृत्वमा पछाडि पर्नुका कारक तत्वहरू के हुन् ? यिनको पहिचान र समाधान गर्न हामीले जोडबल नगरे कस्ले कहिले गर्ने ? युवाहरूलाई भविष्यका कर्णधार भनेर घोकाउने हाम्रो पुरातन शैक्षिक स्कुलिङले ‘युथ आर द पार्टनर्स अफ टुडे’को सङ्कल्प गर्दैन । त्यसको निम्ति हामी आफैँ अग्रसर हुनुको अर्को विकल्प छैन ।

आज घर, समुदाय र राष्ट्र बनाउने सन्दर्भमा युवाको भूमिका जीर्ण बन्दै गयो । हामीले कसैसँगको भावनात्मक सम्बन्ध र स्वार्थका कारण व्यभिचार विरुद्धका प्रश्न गर्न सकेनौँ र नेताहरूले देश बिगारे भन्दै मात्र गरिरह्यौँ भने भोलिको पुस्ताले हामीलाई लगाउने ब्लेम पनि यही हुनेछ । अब कसैले कसैबाट आफ्नो संरक्षण खोज्ने प्रवृत्तिलाई छोडौँ, युवाका एजेन्डाहरूमाथि वकालत र कार्यान्वयन गरौँ । जबसम्म फेडेरल डेमोक्रेटिक रिपब्लिक बलियो हुन्न, तबसम्म हामीले नयाँ शिरामा मुलुकलाई लान नसक्ने भएले लोकतन्त्रमाथि कू गर्ने, निजि स्वार्थसिद्ध प्राप्तिका खातिर लोकतन्त्र र संविधानको बलात्कार गर्ने सबैलाई समाजबाट बहिस्कार गर्ने हिम्मत गरौँ ।

केही वर्षयता मुलुकमा साक्षरता दर बढे पनि शिक्षित मानिसहरूको अभावले आज मुलुक जुन समस्याग्रस्त दलदलमा फसेको छ, त्यसलाई माथि उठाउनका निम्ति तथ्य र तर्कका आधारमा विवेचना गर्न सक्ने जनशक्ति उत्पादनमा युवाहरूको भूमिका अतुलनीय हुन सक्छ । यसर्थ मुलुकको आमूल परिवर्तन युवाबाहेक अरु कसैले गर्न सक्दैन । ‘आइ डन्ट लाइक पोलिटिक्स’ भन्नुको सट्टा राजनीतिलाई आम युवाहरूले नजिकबाट चिन्न र बुझ्न सके मुलुकको आर्थिक, सामाजिक, राजनीतिक, सास्कृतिक लगायतका पक्षहरूमा ऎतिहासिक परिवर्तन ल्याउन सकिने कुरामा दुइमत छैन ।

अन्त्यमा, नेपोलियन बोनापार्टले भनेका छन्– The world suffers a lot not because the violence of bad people, But because of the silence of the good people’s. तसर्थ आजैदेखि बोलौँ अनियमितता, भ्रष्टाचार, कालोबजारी, ढिलासुस्ती, सामाजिक कुरीति, विभेद र अन्धविश्वासका बिरुद्ध । अनि लोकतन्त्र चल्ने भनेको मेजोरिटीमा हो भन्दै गर्दा मुलुकमा युवा र महिला मेजोरिटीमा हुँदा पनि यी दुवै माइनोरिटीमा छन् भन्ने कुरा पनि नबिर्सौं ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV