३० जेष्ठ २०७८, आईतवार
  • बाल बिक्रम कार्की ।

रौतहट । श्रीमानले एसिड प्रहार गरेपछि घाइते भएकी रौतहटकी दिपिका विकको उपचारको लागि युवा व्यवसायी देवेन्द्र अर्यालले आर्थिक सहयोग गर्ने भएका छन् । रौतहटमा रहेर घरजग्गा व्यवसायमा गर्दै आएका अर्यालले विकको उपचारका लागि २१ हजार रुपैया सहयोग गर्ने भएका हुन् ।

शनिबार साँझ जिल्लाको चन्द्रपुर नगरपापिलका–४ की ३८ वर्षीया दिपिका विकलाई उनकै ४२ वर्षीय श्रीमान दिपक विकले एसिड प्रहार गर्दा उनको शरीरको करिब १८ प्रतिशत भाग जलेको थियो ।

एसिडका कारण उनको देब्रे हात र पेट जलेको छ । उनलाई चन्द्रपुरको एपोलो सिटी अस्पतालमा प्राथमिक उपचार पश्चात आइतबार दिउँसो थप उपचारको लागि कीर्तिपुर अस्पतालमा लगिएको छ ।

एसिड आक्रमणमा परेर घाइते भएकी विकलाई उपचार खर्चमा थोरै भएपनि राहत होस् भनेर आफूले सो सहयोग गरेको उनले बताए । ‘आफ्नै ठाउँकी चेलीमाथि भएको दुःखद् घटना घटेपछि चुप लागेर बस्न मनले मानेन’ उनले भने, ‘त्यसैले दिपिकाको उपचारमा सहयोग पुगोस् भनेर सहयोग गरेको हुँ । आवश्यक परे थप सहयोग गर्न पनि तयार छुँ ।’

उनले मानिस भएर एक–अर्कालाई दुःखमा सहयोग गर्नुनै मानव कर्तव्य भएको भन्दै पीडितको उपचारको क्रममा आर्थिक अभावले बाधा नपरोस् भनेर सबै मिलेर लाग्नुपर्ने उनले बताए । चन्द्रपुर नगरपालिका–६ निवासी अर्याल व्यवसाय सँगसँगै सामाजिक कार्यमा पनि सक्रिय रहेका छन् ।

उनले यसअघि पनि विभिन्न सामाजिक कार्यका लागि आर्थिक सहयोग गरिसकेका छन् । एसिड प्रहार गरे लगत्तै प्रहरीले दिपिकाको श्रीमान दिपक विकलाई पक्राउ गरेको थियो । उनलाई पीडितले दिएको जाहेरीको आधारमा जिल्ला अदालत गौरबाट ८ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV