३० जेष्ठ २०७८, आईतवार
  • युवराज आचार्य,

झापा । सर्पदंश उपचार केन्द्र नभएर अकालमै ज्यान गुमाउन बाध्य झापा कचनकवल गाउँपालिकाका नागरिक अब भने त्यस्तो समस्याबाट मुक्त हुने भएका छन् ।

नजिकै सर्पदंश उपचार केन्द्र नहुँदा बिगत लामो समयदेखि सर्पको डसाइबाट अकालमा ज्यान गुमाउन बाध्य कचनकवलबासी अब भने गाउँपालिकामा नै सर्पदंश उपचार केन्द्र सञ्चालन हुने भएपछि त्यो समस्या हल हुने भएको छ ।

कचनकवलमा आज मात्र पनि सीमा सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीलाई विषालु सर्पले डसेको छ । सर्पको डसाइबाट घाइते भएका सशस्त्र प्रहरी जवान २२ वर्षीय विवेक रजतको सर्पदंश उपचार केन्द्र चाराआलीमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए ।

उनको अवस्थामा खतरामुक्त रहेको र आजै साँझसम्म डिस्चार्ज दिने एसपी पाण्डेले बताए । एकसाता अघि मात्र पनि कचनकवलमा सर्पको डसाइबाट दुई जनाको अकालमै मृत्यु भएको थियो ।

सर्पदंशका बिरामीको उपचारका लागि गाउँपालिकाले यसअघि नै प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा आवश्यक जनशक्ति र भौतिक व्यवस्थापनको कार्य पूरा गरिसकेको थियो । यद्यपि स्वास्थ्य विभागले अनुमति पत्र दिन ढिलाइ गर्दा सेवा भने सञ्चालन हुन सकिरहेको थिएन ।

गाउँपालिकाले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा गत पुस २७ गते नै सर्पदंश उपचार केन्द्रको स्वीकृतिका लागि पत्र पठाएको थियो । महाशाखाबाट जेठ २८ गते मात्र स्वीकृति पत्र प्राप्त भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले बताए।

यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन, गाउँपालिका अध्यक्ष अञ्जार आलमलगायतको पहलमा सर्पदंश उपचार केन्द्र स्थापनाको तयारी जुटेका थिए ।

प्रतिनिधिसभा सदस्य लिङदेनले संसद् कोष, प्रदेशसभा सदस्य बानियाँ र अध्यक्ष आलमले गाउँपालिकाबाट उपचार केन्द्रका लागि करिब २० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्।

सोही बजेटबाट पहिलो चरणमा आवश्यक जनशक्ति र भौतिक व्यवस्थापन कार्य पूरा गरेको स्वास्थ्य शाखा प्रमुख यादवको भनाइ छ। सर्पदंश उपचार केन्द्रको उद्घाटन असार ३ गते गर्ने तयारी भइरहेको प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV