३० जेष्ठ २०७८, आईतवार
  • युवराज आचार्य,

झापा । झापामा जारी पूर्ण निषेधाज्ञालाई केही खुकुलो बनाइ थप एक साता लम्ब्याएको छ । जिल्लामा आज बसेको डीसीसीएमसीको बैठकले जारी लकडाउनलाई पाँचौ पटक थप गर्दै असार ७ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो ।

बैठक लगत्तै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशमा संक्रामक रोग तथा स्थानीय प्रशासन एन प्रयोग गरी हाल जारी रहेको आदेशलाई केही परिमार्जन गर्दै असार ७ गतेसम्म जारी राख्ने निर्णय भएको उल्लेख छ ।

यो पटकको निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्रीका पसल खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दुध, डेरी, पुस्तक पसल तथा हार्ड वेयर पसल प्रत्येक दिन विहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न दिने उल्लेख छ ।

मल खाद्य, वीउविजन, चल्ला तथा दाना एवम् पशुपंक्षीका आहार सम्बन्धी पसल विहान १० बजेदेखी ५ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ ।

यस अघिको निषेधाज्ञामा अत्यावश्यक सामग्रीका पसल आइतबार र बुधबार विहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिने उल्लेख थियो ।
नयाँ शैक्षिक सत्रलाई मध्य नजर गर्दै झापामा यो पटक पुस्तक पसलसमेत खोल्न दिने निर्णय भएको हो ।

साथै कार्यालय सञ्चालनको हकमा अत्यावश्यक सेवा वाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान सेवा स्थगन गर्ने उल्लेख छ । त्यस्तै बैंक तथा वित्तिय संस्थाहरुले न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्ने, बचत संकलन गर्ने कार्य नगर्ने उल्लेख छ ।

पछिल्लो पटक जेठ १४ गतेदेखि २१ गतेसम्म जारी निषेधाज्ञालाई चौथो पटक जेठ ३१ गते राति १२ बजेसम्म थप गरिएको थियो ।

LIVE TV