३० जेष्ठ २०७८, आईतवार

कास्की । ‘रत्नाकर वाल्मीकि बन्छ भने मनाङेले पनि राजनीति सेवा गर्न किन सक्दैन भनेर मेरै पार्टीले सहयोग गरी सांसद बनायौं । सभामुख नमान्दा नमान्दै सांसदको शपथ खुवाए । नेकपामा प्रवेश गर्‍यो । पछि पार्टी फुटेपछि एमाले बन्यो । एमालेलाई नै लेबी तिरिरहेको छ । उसलाई सुधार्न र राजनीतिबाट समाजसेवामा जोड्नको लागि मन्त्री बनाएको थिए । उसले पछि मलाई सम्झिनेछ ।’

यी माथिका बोलिएका हरफहरु गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको हो । मुख्यमन्त्री पदबाट मुक्त भएका उनले आइतबार पत्रकार सम्मेलनमा आफ्नो सरकारमा युवा तथा खेलकुद मन्त्री बनाएका स्वतन्त्र सांसद राजिब गुरुङ (दीपक मनाङले) धोका दिएकोमा गुनासो पोखे ।

पत्रकारसँग निवर्तमान मुख्यमन्त्री गुरुङले मनाङेलाई चेला बनाएर धेरै कुरा सिकाएको बताएका छन् । उनले भनेअनुसार गुण्डा पृष्ठभूमीका मनाङेलाई राजनीतिबाट समाजसेवामा ल्याए ।

गुरुङले राजनीति नबुझेका मनाङेलेलाई थुप्रैचोटी गल्ती गर्दा पनि माफी दिएको बताएका छन् । उनले भने, ‘राजनीति बुझेको छैन भनेर हरेक गल्तीमा पनि मनाङेलाई कारबाही गरिन ।’

हाल मनाङे कांग्रेससहितको गठबन्धनबाट बनेको नयाँ सरकारमा सामेल भएर विनाविभागीय मन्त्री बनिसकेका छन् । प्रदेश मन्त्रीका रुपमा दोस्रो पटक मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV