३० जेष्ठ २०७८, आईतवार

काठमाडौं । सामाजिक अभियान्ताहरुले मकवानपुरको विकट गाउँपालिका राक्सिराङ्गमा पुगेर राहत वितरण गरेको छ । शनिबार अभियानकर्ताहरुको सक्रिय साझा संस्था पहलले राक्सिराङ्गमा पुगेर राहत वितरण गरेको हो ।

कोरोना महामारीका कारण खाद्यान्न अभाव झेलिरहेका राक्सिराङ्गको काकडा बेसीगाउँ–७ का अति विपन्न ४२ परिवारलाई राहत वितरण गरिएको हो ।

हेटौंडाको सिद्धार्थ शिशु सदन बोर्डिङ्ग स्कुलबाट २०५४ सालमा एसएलसी पास गर्ने भूतपूर्व विद्यार्थीहरुको सक्रियतामा १ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको पहलका संयोजक जावेद हुसेनले जानकारी दिए ।

खाद्यान्न अभाव भएर जंगली कन्दमुल खान बाध्य उक्त गाउँमा केही दिनअघि मात्रै विषालु च्याउ खाएर १ जनाको मृत्यू र २ जना बिरामी भएको खबर थाहा पाएपछि आफूहरुले खाद्यान्न सहयोग गरेको संयोजक हुसेनले बताए ।

गाउँपालिकाको अनुमतिपश्चात अति विपन्न ४२ परिवारलाई प्रति परिवार २० किलो चामल, ५ किलो पिठो, चना, नुन, तेल, मस्यौरालगायतका खाद्य सामग्री सहयोग गरिएको हो ।

खाद्यान्न वितरणका लागि काठमाडौँ, युएसए, अष्टेलिया, क्यानडा, लण्डनबाट सामाजिक अभियानकर्ताहरूले आर्थिक सहयोग गर्नु भएको संयोजक हुसेनले बताए ।

खाद्यान्न सहयोग वितरण कार्यक्रममा संयोजक हुसेन, संस्थामा आबद्ध आनन्द अग्रवाल, मनिल श्रेष्ठ, प्रविण बास्तोला, लिलु पुलामी मगर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV