२९ जेष्ठ २०७८, शनिबार

रौतहट । रौतहटमा एक महिलामाथि एसिड आक्रमण भएको छ । रौतहटको चन्द्रपुर नगरपापिलका वडा नम्बर ४ कि ३८ वर्षिय दिपिका वि.क. लाई उनकै श्रीमानले एसिड प्रहार गरेका हुन् ।

पीडित महिलाको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनको शरिरको करिब १८ प्रतिशत भाग जलेको छ । उनको देब्रे हात र पेट जलेको छ ।

पीडित महिलाका अनुसार शनिबार करिब साँझ ६ बजेतिर विवाद हुँदा उनको श्रीमानले एसिड आक्रमण गरेका थिए।

विवादको सुरुवाती क्रममा श्रीमानले कुट्दा उनको गालामा चोट लागेको थियो । विवादपछि बाहिर निस्केका श्रीमानले फर्किएर आउँदा पछाडि बोतलमा लुकाएर ल्याएको एसिड छ्याप्न खोज्दा उनले देखेर खोस्ने क्रममा हातमा र मुखमा परेको पीडितले बताइन् ।

उनले रुँदै भनिन्, ‘यसअघि एसिड आक्रमण परेको भन्ने फेसबुकमा मात्र देखेको थिएँ । आज आफ्नै साथमा यस्तै घटना भयो । त्यो पनि आफ्नै श्रीमान्द्धारा ।’ समयमै देखेर खोसेकाले एसिड भने उनको मुखमा नपरेको दिपिकाले बताइन् ।

प्रहरीले महिलाका ४२ वर्षिय श्रीमान् दिपक वि.क. लाई पक्राउ गरेको छ । चन्द्रपुर ४ मा सुनचाँदी पसल सञ्चालन गरेर बस्ने वि.क. ले सोही पसलबाट एसिड ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेका अनुसार घटनाको सुचना पाएलगत्तै वि.क. लाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घटनास्थलको प्रकृति हेर्दा एसिडको प्रयोग भएको जस्तो देखिएपनि ठ्याक्कै एसिड नै हो भन्ने बारेमा ल्याव परिक्षण प्रचात मात्र थाहा हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV